आर्थिक अभावले बिहान बेलुका हातमुख जोर्ने समस्यासँग जुद्धै छन् रामेछापका थामी समुदाय

आर्थिक समस्याको कारण दोरम्बा शैलुङ गाउँपालिका-१, डडुवाको थामी बस्तीमा अहिले पनि बिहान खायो, बेलुका के खाऊँ भन्ने समस्या छ । हरेक दिन ज्याला मजदुरी गर्न नजाने हो भने बिहान बेलुका पेटमा तातो पर्दैन ।

सीमान्तकृत थामी समुदायका मानिसहरू अहिले पनि आर्थिक अभाव कारण बिहान बेलुका हातमुख जोर्ने लडाइँमा नै छन् । आर्थिक विपन्नता छ, गरिबी छ, त्यसैले भोक विरुद्धको लडाइँ जारी छ । डडुवामा झण्डैँ दुई सय घर थामी समुदायको बसोबास छ । ‘थामी समुदाय अहिले पनि आर्थिक तथा सामाजिक रूपले निक्कै पछाडि परेको छ’, दोरम्बा शैलुङ गाउँपालिका-१ का वडाध्यक्ष प्रेम लामाले भन्नुभयो ।

‘आर्थिक तथा सामाजिक रूपले पछाडि पारिएको थामी समुदायमा अहिले पनि अशिक्षा छ, सामाजिक सचेतनाको कमी छ, अझै अन्धविश्वास छ, गाउँमै स्वास्थ्य चौकी छ, तर पनि स्वास्थ्य चौकी भन्दा धामीकै विश्वास बढी छ, बाल विवाह कायम नै छ’, लामाले उल्लेख गर्नुभयो ।

गाउँमा अहिले पनि एसईई गर्ने मानिसहरू छैनन् । ‘गरिबीको कारण बालबालिकाहरू अलि हुर्किएपछि ज्याला मजदुरी तिर लाग्छन् । ‘हात मुख जोर्न समस्या छ, मजदुरी नगरी खान पुग्दैन, के गरी बच्चा बढाउनु ?’, स्थानीय तीर्थबहादुर थामीले भन्नुभयो ।

गाउँमा अहिले पनि बालविवाह कायम नै छ । १६ वर्ष पुगेपछि प्राय छोरीहरूको विवाह हुन्छ । जसले महिलाको स्वास्थ्यमा नराम्रो प्रभाव पारेको छ । ‘पहिला त कोक्रोमा छँदै विवाह हुन्थ्यो, अहिले यहाँसम्म आएको छ, सचेतनाका कार्यक्रम पनि निरन्तर सञ्चालनमा छन्, तैपनि सोचेजस्तो परिणाम आउन सकेको छैन’, वडाध्यक्ष लामाले भन्नुभयो ।

रामेछापको दोरम्बा शैलुङ र खाँडादेवी गाउँपालिकामा थामी समुदायको बसोबास रहेको छ । खाँडादेवीका थामीको अवस्था पनि डडुवाका थामीहरूको भन्दा खासै फरक छैन । खाँडादेवी गाउँपालिका-७ को खाँडादेवीमा बसोबास गर्ने थामी समुदाय पनि डडुवाको जस्तै गरिबीसँगै जुधिरहेका छन् । बिहान बेलुका हातमुख जोर्नु उहाँहरूको प्रमुख चुनौती बनेको छ । ‘गरिबीकै कारण होला विद्यालय छाड्ने दर अधिक छ, त्यसैले थामी समुदायको विद्यार्थीको लागि खाना सहित निःशुल्क छात्रावासको व्यवस्था गरेर पढाउने कार्यक्रम गाउँपालिकाले ल्याएको छ, तथापि सोचे जस्तो प्रगति हुन सकेको छैन’, खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ भन्नुहुन्छ ।

खाँडादेवी गाउँपालिकाले थामी समुदायका महिलालाई आय आर्जनका लागि बाख्रा वितरण, विद्यार्थीलाई झोला तथा कपि वितरण, समुदायमा आधारित विभिन्न कार्यक्रम पनि सञ्चालन गरिरहेको छ । तर पनि गरिबी निवारण हुन सकेको छैन । शिक्षाको गुणस्तर सुधार हुन सकेको छैन, गरिबी हट्न सकेको छैन ।

Photo_080-7-29_Ramechhap


नवराज घिमिरे