आर्थिक अभावले बिहान बेलुका हातमुख जोर्ने समस्यासँग जुद्धै पेल्माका समुदाय

पुथा उत्तरगङ्गा गाउँपालिका-२, पेल्माका नागरिकहरू आर्थिक अभावका कारण बिहान बेलुका हातमुख जोर्ने समस्यासँग जुद्धै छन् । यस गाउँमा बुढा, घर्ती, पुन, रोका, झाँक्री, कामी, खत्री, दमाई लगायतका जातिहरू बसोबास गर्छन् । यहाँ स्याउ, आलु, फापर र कोदो मात्रै उत्पादन हुन्छ । बाँकी खाद्यान्न किनेर खानुपर्ने बाध्यता छ । रोजगार नहुँदा आम्दनी पनि छैन । भोकै बस्न सकिँदैन । ज्यान पाल्न नै मुस्किल छ यहाँका बासिन्दालाई ।

यस भेगमा आलु र स्याउको निकै राम्रो उत्पादन हुन्छ तर सडक नभएको कारण बजारीकरण गर्न सकिएको छैन । यहाँका मानिसहरू सामान खच्चडमा बोकाएर लैजाने र ल्याउने गर्छन् । यसरी खच्चडमा बोकाउँदा निकै महङ्गो हुने यहाँका स्थानीय किसान लालबहादुर विकको भनाइ छ ।

गाउँमा आधारभुत विद्यालय छ तर अहिले पनि एसईई गर्ने मानिसहरू छैनन् । गरिबीको कारण बालबालिकाहरू अलि हुर्किएपछि ज्याला मजदुरी तथा खेतिपाती तिर लाग्छन् । यहाँका मानिसहरूलाई बिहान बेलुका हात मुख जोर्न समस्या छ । मजदुरी नगरी खान पुग्दैन । गाउँमा आर्थिक विपन्नता छ । गरिबी छ । त्यसैले भोक विरुद्धको लडाइँ जारी छ । यस समुदाय अहिले पनि आर्थिक तथा सामाजिक रुपले निक्कै पछाडि परेको छ ।

आर्थिक तथा सामाजिक रुपले पछाडि पारिएको पेल्माका समुदायमा अहिले पनि शिक्षाको अभाव छ । सामाजिक सचेतनाको कमी छ । अझै अन्धविश्वास कायमै छ । स्वास्थ्य चौकीमा दुई जना स्वास्थ्यर्मी कार्यरत छन् तर स्थानीयलाई चाहिएका बेलामा औषधि पाइँदैन । गाउँमा अहिले पनि बालविवाह कायम नै छ । १६ वर्ष पुगेपछि प्राय छोरीहरूको विवाह हुन्छ । जसले महिलाको स्वास्थ्यमा नराम्रो प्रभाव पारेको छ । यहाँ बसोबास गर्ने मानिसहरू गरिबीसँगै जुधिरहेका छन् । बिहान बेलुका हातमुख जोर्नु आफूहरूको प्रमुख चुनौती बनेको किसान विक बताउनुहुन्छ । गरिबीकै कारण होला विद्यालय छाड्नेको दर अधिक छ ।

पुथा उत्तरगङ्गा गाउँपालिका-२ का वडा अध्यक्ष जसबहादुर श्रीपालीले पेल्माका अधिकांश नागरिकहरू कृषिमा रुचि राखेका हुनाले आफूहरूले पशुपालनमा जोड दिएको बताउनु भयो । आफूहरूले सडक बनाउन प्रदेश र सङ्घ सरकारमा पहल गरेको उल्लेख गर्नुभयो । ठाउँहरू अति विकट भएको कारण सडक निर्माणको कार्य अझै दुई वर्ष लाग्ने उहाँले बताउनु भयो ।

अझै पनि यहाँका मानिसहरू गाँस, बास र कपासको अभावमा बाँच्न बाध्य छन् । मानव अधिकारले न्यूनतम मापदण्ड मानेको गाँस, बास र कपासको सुविधा सबै जनतामाझ पुर्‍याउन आफूहरू लागि परेको पुथा उत्तरगङ्गा गाउँपालिकाका अध्यक्ष पुनीराज घर्तीले बताउनु भयो । यहाँको जनताको जीवनस्तर उकास्नका लागि गैरसरकारी संस्थाहरूले आफूहरूसँग हातेमालो गरेर काम गरे थप सहज हुने उहाँको भनाइ छ ।

k'yf pQ/u+uf ufpFkflnsf–@ df kg]{ k]Ndf ufpF .


इन्सेक लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्ज