आर्थिक अभावले उपचारबाट वञ्चित, सात वर्षयता अध्याँरो कोठामा बन्धक

आठराई त्रिवेणी गाउँपालिका–२ फुलबारीका ३३ वर्षीय दीपक भट्टराई परिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारबाट वञ्चित हुनु परेको छ ।

कक्षा–१० सम्म अध्ययन गरेका भट्टराई मानसिक रोगबाट पीडित भएपछि उपचारका परिवारको आर्थिक हैसियत नभएकाले उपचार पाउनबाट वञ्चित हुनु परेको छ ।

परिवारले ऋण काढेर उपचार गर्न प्रयास गरेतापनि निरन्तर स्वास्थ्य चेकजाँच र औषधि सेवन गराउन नसकेकाले समस्या दीपक उचित उपचारबाट वञ्चित हुनु परेको हो ।

अर्काको घरजग्गामा कमाइखेती गरेर जीवन चलाइ रहेको भट्टराई परिवारले थप ऋण लिएर उपचार गर्ने अवस्था त छैन, पुरानै ऋण कसरी तिर्ने भन्ने पीरले समस्याग्रत छ ।

दीपककी ६० वर्षीया आमा नरमाया भट्टराईले इन्सेक प्रतिनिधिसँगको भेटमा गहभरि आँशु झार्दै भन्नु भयो,“उपचार गराउन त सकिएन् । तर हाम्रो जिउ पछाडी छोराको अवस्था के होला ।”

तीन जना बहिनी चेलीको विवाह भएर गएकाले आमाबाबु र बिरामी छोरा मात्र छन् । अर्काको खेती कमाइ गरेर बसेको परिवारको आर्थिक अवस्था कमजोर छ । त्यही भएर अब छोराको उपचार आफूबाट सम्भव नभएको उपचारका लागि परिवारले अरूको सहयोग खोजेको छ ।

दीपकका ६२ वर्षीय बाबु डिल्लीराम भट्टराईले भएको तीन रोपनी जग्गा समेत बेचेर छोराकै उपचारमा खर्च गरिएको इन्सेक प्रतिनिधिसँग बताउनु भयो । उहाँले भन्नुभयो “हाम्रो नाममा एक मुठी माटो छैन् । जम्मा एउटा दुहुना गाई मात्र छ ।”

एकातिर छोराको उपचार र हेरचाह, अर्कोतिर खेतीपाति उकासेर वर्षभरि खानलाउन जोहो गर्नु पर्ने भएकाले हातमुख जोर्न भट्टराई परिवारलाई समस्या छ ।

जवान छोरालाई अध्याँरो कोठामा जनावरलाई झै थुनेर राख्नुपर्दा र बेला–बेलामा आमा भन्दै बोलाउने शब्दले बाबु र आमाको मन कटक्क खाने गरेको ६२ वर्षीया आमा नरमायाले भन्नुभयो । गहभरिको आशु घुटुक्क निल्दै आमा नरमायाले इन्सेक प्रतिनिधिसँग भन्नुभयो “रुदिन भन्छु । आमा न हुँ । कति बेला आँशु झार्छु थाहा पाउँदिन् ।”

सात वर्षदेखि कोठामा थुनेर राखेका दीपकका लागि भान्सा कोठादेखि शौचालय र सुत्ने कोठा त्यही अध्याँरो कोठा नै हो । खुल्ला आकाश हेर्न पाएका छैनन् दीपकले ।

कोठाबाट बाहिर निकाले भाग्ने र परिवारकै सदस्यसँग झम्टिने भएकाले जोगाउन लागि कोठाभित्र थुनेर राख्नु पर्ने बाध्यता बाबुआमालाई छ ।

६२ वर्षीय बाबु दिल्लीराम भट्टराईले भन्नुभयो “उपचार गर्न हामीबाट सम्भव छैन् । त्यै राज्यले थाहा पाए उपचार गरिदिन्थ्यो कि !” घरायसी व्यवहार र सुरूको उपचारका लागि काढेको ऋणको सावाब्याजसहित साढे पन्ध्र लाख रुपियाँ ऋण छ ।

ऋण नतिरी मरिए पाप लाग्छ भन्ने पीरले आजभोली नै सताउने गरेको विलौना भट्टराई दम्पतीले इन्सेक प्रतिनिधिसँग गरेका छन् ।

०७२ सालतिर एक्कासी टाउको दुख्यो भनेर बुवाआमासँग बोलेको शब्दबाहेक दीपकले आजसम्म अरू शब्द नबोलेको पीडित परिवारको भनाइ छ ।

टाउको दुख्यो भनेयता छोराले बोल्ने शब्द, बानी व्यवहार र हाउभाउले पिरोलिन थालेको परिवार यतिबेला घर न घाटको अवस्था छ ।

आठराई त्रिवेणी गाउँपालिका अध्यक्ष दिपेन पोमूले बिरामीका लागि उपचार गर्न सबैसँग समन्वय गर्ने बताउनु भएको छ ।

अध्यक्ष पोमूले इन्सेक प्रतिनिधिसँग भन्नु भयो “पालिकाबाट मात्र सम्भव नहोला । सबैसँग सहकार्य गर्न आतुर छौ ।”

नेपालको संविधान २०७२ ले धारा ३५ मा स्वास्थ्य सम्बन्धी हकलाई मौलिक हकका रूपमा व्याख्या एवम् व्यवस्था गरेको छ ।

सोही धाराका उपधारा १ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि स्वास्थ्य सेवाबाट वञ्चित गरिने छनै भनि उल्लेख गरिएको छ ।

जनस्वास्थ्य ऐन,२०७५ को परिच्छेद २ को दफा ३ मा कुनै पनि नागरिकलाई स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भनि उल्लेख गरेको छ ।

जनस्वास्थ्य ऐन, २०७५ ले नसर्ने रोग तथा शारिरीक विकलाङ्गता,मानसिक रोगलगायतका अवस्थामा निशुल्क उपचारको व्यवस्था गरेको छ ।

photo 20220715 Taplejung (3)

photo 20220715 Taplejung (2)

photo 20220715 Taplejung (4)

photo 20220715 Taplejung (1)

  photo 20220715 Taplejung (5)


देवराज गुरुङ