आयोगद्वारा पाँचौ रणनीतिक योजनाका बारेमा छलफल

राष्ट्रिय मानव अधिकार आयोगको पाँचौ रणनीतिक योजना (२०१५-२०२०) र वार्षिक कार्ययोजनाको प्रभावकारी विश्लेषणसम्बन्धी छलफल फागुन ९ गते बुटवलमा सम्पन्न भएको छ ।

अघिल्ला चारओटा कार्ययोजनाको तुलनामा पाँचौ कार्ययोजनाको कार्यक्षेत्र केही फराकिलो भएको राष्ट्रिय मानव अधिकार आयोगका नीति अनुसन्धान तथा योजना महाशाखाका प्रमुख डा. टीकाराम पोखरेलले बताए ।

मानव अधिकार उल्लङ्घनका घटनाहरूको अनुसन्धान तथा मानव अधिकार अवस्थाको अनुगमन गर्ने, मानव अधिकारको प्रवर्धनको सुदृढीकरण गर्ने, विपन्न सीमान्तकृत एवम् पछाडि पारिएका वर्गको अधिकार सुनिश्चित गर्ने, आयोगको पहुँच विस्तार गर्ने, प्रभावकारिता र संस्थागत विकास गर्नेलगायतका विषय पाँचौ रणनीतिक योजनामा रहेको पोखरेलले बताए ।

आयोगले विगतमा नागरिक तथा राजनीतिक अधिकारलाई जोड दिँदै आएको र पछिल्लो रणनीतिक योजनामा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका क्षेत्रमा बढी महत्वका साथ काम गरिरहेको पोखरेलले जानकारी दिए ।

कार्यक्रममा पूर्व सभासद विनोद पहाडीले कार्ययोजनामा भएजस्तै कार्यान्वयनको पक्षलाई पनि बलियो र प्रभावकारी बनाउन आग्रह गरे ।


रीमा बि.सी.