आयोगद्वारा धादिङ घटनाको स्थलगत अनुगमन सुरु

जिल्ला वन कार्यालयले धादिङस्थित रेडियो धादिङ १०६ मेघाहर्ज र महिला सुरक्षित गृहमा डोजर लगाएर भत्काएको घटनाको उजुरी परेपछि राष्ट्रिय मानव अधिकार आयोगले स्थलगत अनुगमन सुरु गरेको छ ।

सुरक्षित आवास गृहमा रहेका हिंसा प्रभावित महिलालाई जिल्ला वन अधिकृत अफैंले दुर्व्यवहार गरेको र रेडियो धादिङको प्रसारण बन्द गर्ने उद्देश्यले असोज ७ गते रातको समयमा आक्रमण गराएको भनी उजुरी परेपछि आयोगको टोलीले असोज ९ गते घटनाको अनुगमन सुरु गरेको हो ।

आयोगको अनुसन्धान टोलीले सुरक्षित आवास गृहमा महिलामाथि भएको दुर्व्यवहार र रेडियो धादिङमा भएको आक्रमण घटनाको अनुसन्धान गर्ने आयोगकी अधिकृत नितु गर्तौलाले जानकारी दिइन् ।

photo20160925dhading

अनुसन्धान टोलीले घटनास्थल, पीडितहरू, सरोकारवालाहरू, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रशासनलगायतसँग भेटघाट र छलफल गर्ने जनाएको छ ।

त्यसैगरी असोज ८ गते अमार्कको नेतृत्वमा आएको पत्रकारहरूको टोलीले पनि घटनाको अध्ययन गरी काठमाडौँमा प्रतिवेदन सार्वजनिक गर्ने अमार्कका उपाध्यक्ष विष्णुहरी ढकालले जानकारी दिए ।

जिल्ला वन कार्यालयले तोडफोड गरेपछि बन्द रेडियो धादिङले असोज ९ गते बिहान १० बजेबाट अस्थायी रूपमा प्रसारण सुरु गरेको छ । अमार्कलगायतका निकायबाट अत्यावश्यक उपकरण जुटाई रेडियो सञ्चालन गरिएको रेडियोका स्टेशन म्यानेजर राजाराम शर्माले बताए ।

 


सीताराम अधिकारी