आयोगको सिफारिस कार्यान्वयन निराशाजनक

राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय खोटाङले आयोगद्वारा सिफारिस कार्यान्वयन निराशाजनक रहेको जनाएको छ ।

०७१ साल कार्तिक २ गतेदेखि २०७४ असार १५ गतेसम्मको अवधिमा आयोगले सम्पादन गरेका महत्वपूर्ण कार्यको विवरण सार्वजनिक गर्न आयोजित कार्यक्रममा हत्या, न्याय प्रशासन, बेपत्ता, अपहरण, गैरन्यायिक थुनालगायतका गम्भीर प्रकृतिका घटनामा संलग्नलाई कारबाहीका लागि सिफारिस गरे पनि कार्यान्वयनको अवस्था निराशाजनक रहेको राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालयका निमित्त उपनिर्देशक मोहनदेव जोशीले बताए ।

photo20170704khotang

'आयोगले मानव अधिकार उल्लङ्घनका घटनाहरूको दर्ता, अनुसन्धान र कारबाहीका लागि सिफारिस गरे पनि त्यसको कार्यान्वयनको अवस्था निराशाजनक छ ।'-दिक्तेलमा असार १९ गते आयोजित कार्यक्रममा निमित्त उपनिर्देशक जोशीले भने-'राहत दिनुपर्ने विषयलाई सरकारले तत्काल कार्यान्वयन गर्ने तर कानुन अनुसारको कारबाही चलाउनुपर्ने अवस्थाका अधिकांश सिफारिस कार्यान्वयन उत्साहजनक छैन ।'

द्वन्द्वकालीन घटनाका दोषीमाथिको कारबाहीको अवस्था झनै निराशाजनक रहेको आयोगले जनाएको छ । सिफारिस कार्यान्वयन निराशाजनक रहनुको कारण पत्ता लगाउन आयोग लागि परेको पनि जोशीले बताए ।

 


सुनिता मगर