आयोगको काम कारबाहीबारे अनभिज्ञ छौं: द्वन्द्वपीडित

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको काम कारबाहीबारे नेपालगञ्जमा आयोजित एक कार्यक्रममा सहभागी द्वन्द्व पीडितहरूले अनभिज्ञता प्रकट गरेका छन् ।

बलपूर्वक बेपत्ता बनाउने कार्य विरूद्धको अन्तर्राष्ट्रिय दिवसका सन्दर्भमा राष्ट्रिय मानव अधिकार आयोग र न्यायका लागि द्वन्द्व पीडित समाज बाँकेको आयोजना तथा इन्सेक, आइसीजे, एडभोकेसी फोरम, हरप्लेस, मानव अधिकार एलाइन्स लगायतका संस्थाको सहकार्यमा भदौ १३ गते नेपालगञ्जमा आयोजित बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको प्रभावकारिता र पीडितलाई न्याय विषयक अन्तरसम्वाद कार्यक्रममा सहभागी द्वन्द्व पीडितहरूले अनभिज्ञता प्रकट गरेका हुन् ।

कार्यक्रममा कोहलपुरकी द्वन्द्वपीडित देवीसरा विकले आयोगमा उजुरी दिएको पाँच महिना बितिसक्दा पनि काम कारबाही र प्रकृयाका बारेमा आफू अनभिज्ञ रहेको बताउँदै पीडितले न्याय पाउने विषयमा शङ्का उत्पन्न भएको गुनासो गरिन् । द्वन्द्वपीडित चन्द्रा अधिकारीले पहुँच भएका द्वन्द्वपीडितले सेवा सुविधा पाएको र पहुँच नहुनेले सूचना पाउनबाट समेत वञ्चित हुनु परेको बताइन् ।

कार्यक्रममा पुनरावेदन अदालत नेपालगञ्जका मुख्य न्यायाधीश बमकुमार श्रेष्ठले द्वन्द्वपीडितको एकता र सामूहिक प्रतिवद्धताको परिणाम सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग बनेको बताए ।

मुख्य न्यायाधीश श्रेष्ठले द्वन्द्वपीडितलाई न्यायका लागि आशावादी भई धैर्य रहन आग्रह गरे । प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले नीतिगत रूपमा भएका विषय कार्यान्वयनमा रहेको बताउँदै कतिपय आवाजहरू कानुनले सम्बोधन गर्न नसकेका विषयमा माथिल्लो निकायमा पुर्‍याउने प्रतिवद्धता जनाए ।

राष्ट्रिय मानव अधिकार आयोगका क्षेत्रीय निर्देशक मुरारी खरेलले आयोगले गरेका सबै सिफारिस कार्यान्वयन हुनुपर्नेमा जोड दिए । न्यायका लागि द्वन्द्वपीडित समाजका केन्द्रीय अध्यक्ष जनक राउतले आयोगले कमजोर ऐन बनाएको बताउँदै पीडितहरूले विरोध गरेपछि आफूहरूसँग सुझाव मागेको र सुझाव दिएपछि कार्यान्वयन नगरेको आरोप लगाए ।

उनले आयोगमा परेका उजुरी सम्बन्धमा तामेलीमा राख्ने विषयले पीडितहरूलाई आयोगप्रति थप शङ्का उत्पन्न भएको बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका सचिव तप्त पौडेलले पीडितहरूले छिटो न्याय पाउनु पर्ने धारणा राखे । नेकपा एमालेका सचिव रत्न खत्रीले राजनीतिक इच्छा शक्तिको अभावमा पीडितहरूले न्याय पाउन नसकेको बताए ।

त्यसैगरी बलपूर्वक बेपत्ता बनाउने कार्य विरूद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा भदौ १३ गते बिहान नेपालगञ्जमा रक्तदान कार्यक्रम समेत सम्पन्न भएको छ । रक्तदान कार्यक्रममा द्वन्द्वपीडित, अधिकारकर्मी र नागरिक समाजमा आवद्ध २० जनाले रक्तदान गरेको न्यायका लागि द्वन्द्वपीडित समाज बाँकेकी अध्यक्ष चन्द्रकला उप्रेतीले जानकारी दिइन् ।

Photo20160829Banke1

Photo20160829Banke2

Photo20160829Banke


विनोद पाण्डे