आम नागरिकले आयोगको अनुभूति गर्न पाउनु पर्छः प्रवक्ता अन्सारी

  ०७३ पुस १६ गते

राष्ट्रिय मानव अधिकार आयोग भएको आम नागरिकले अनुभूति गर्न पाउनु पर्नेमा राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य एवम् प्रवक्ता मोहना अन्सारीले जोड दिएकी छन् । पुस १६ गते नेपालगञ्जमा प्रवक्ता अन्सारीले राज्यको संवैधानिक निकायलाई आम नागरिकले 'एनजिओ'को रूपमा चिन्न थालेको बताउँदै आयोगले पँहुच वृद्धि गर्नुपर्ने धारणा राखेकी थिइन् ।

सो अवसरमा मानव अधिकारको रङ्ग एउटै भएको बताउँदै अन्सारीले आम जनताले मानव अधिकारको उपभोग गर्न पाउनुपर्नेमा जोड दिएकी थिइन् ।

सरकार राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा दोहोरो रवैयामा प्रस्तुत हुने गरेको बताइन् । उनले राज्यको नीति कानुनहरू कागजमा मात्र सीमित भएका कारण जनताले उपभोग गर्न नपाएको धारणा व्यक्त गरेकी थिइन् ।

पछिल्लो अवस्थामा आयोगसँग स्रोत साधनको कमी नभएको बताउँदै आयोग प्रति विश्वास जगाउन र पहुँच वृद्धि गर्न आयोगका पदाधिकारी तथा कर्मचारीहरू क्रियाशील हुनुपर्ने बताउँदै राष्ट्रिय संयन्त्र क्रियाशील भए राज्य र जनताको सम्बन्ध सुमधुर हुने उनको बुझाइ छ । सो अवसरमा उनले निकट भविष्यमा मानव अधिकार उल्लङ्घनकर्ताहरूको नाम कालोसुचीमा राख्ने कार्ययोजना ल्याउन लागिएको समेत बताइन् ।


विनोद पाण्डे