आमा सुरक्षा कार्यक्रम बन्द भएपछि सुत्केरी महिला र शिशु सेवाबाट वञ्चित

  ०८१ साउन १६ गते

बजेट अभावमा आमा सुरक्षा कार्यक्रम बन्द भएपछि पाल्पाका सुत्केरी महिला र शिशुले पाउने सेवाबाट वञ्चित भएका छन् । तानसेन प्रभाव स्थित लुम्बिनी मेडिकल कलेजमा सञ्चालन हुँदै आएको आमा सुरक्षा कार्यक्रम बजेट अभाव भएको भन्दै ०८१ असार मसान्तबाट पूर्ण रूपमा बन्द भएको छ । नेपाल सरकारले तानसेन नगरपालिकामा बजेट पठाएर नगरपालिकाले कलेजसँग सम्झौता गरी कार्यान्वयन हुँदै आएको उक्त कार्यक्रम बजेट अभाव भए पनि बन्द भएको हो ।

सरकारले आर्थिक वर्ष ०८१/८२ मा अस्पतालले प्रसूति सेवा उपलब्ध गराए वापत सरकारका तर्फबाट भुक्तानी दिनुपर्ने रकम कम पठाएको र आवश्यक रकमको सुनिश्चितता नहुँदा सम्म कार्यक्रम बन्द गर्न तानसेन नगरपालिकाबाट पत्र आएपछि असार मसान्तदेखि कलेजमा आमा सुरक्षा कार्यक्रम स्थगित गरिएको लुम्बिनी मेडिकल कलेजका कम्पनी सचिव कृष्ण पराजुलीले बताउनु भयो ।

चालु आर्थिक वर्षका लागि कार्यक्रम गर्न ३८ लाख ८० हजार मात्र प्राप्त भएको तानसेन नगरपालिका स्वास्थ्य शाखा प्रमुख झविन्द्र न्यौपानेले बताउनु भयो । उहाँले आर्थिक वर्ष ०७९/८० मा एक हजार २ सय ८७ र ०८०/८१ मा १ हजार ४ सय ४२ जनाले कार्यक्रम अन्तर्गत सुत्केरी सेवा लिएको पराजुलीले बताउनु भयो । चालु आर्थिक वर्षका लागि करिव २ करोड आवश्यक पर्नेमा कम रकम प्राप्त भएकोले सम्झौता गर्न नसकिएको उहाँले बताउनु भयो ।

नेपाल सरकारले कार्यक्रमका लागि गत आर्थिक वर्षमा पठाएको रकम र सेवाग्राहीको सङ्ख्यामा भएको वृद्धिका कारण कलेजलाई केही रकम तिर्न बाँकी नै रहेको प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले बताउनु भयो । यो कार्यक्रम बन्द भएपछि विपन्न समुदायका सुत्केरी तथा शिशु सहुलियत सेवाबाट वञ्चित हुन पुगेका छन् । यो कलेजमा पाल्पा सहित गुल्मी, स्याङ्जा, बाग्लुङ, अर्घाखाँची, पर्वतलगायतका जिल्लाका गर्भवती महिलाले सुत्केरी सेवा लिँदै आएका छन् ।

कार्यक्रम अनुसार प्रसूति सेवाका लागि सुत्केरीले प्रोटोकल अनुसार स्वास्थ्य संस्थामा गर्भ जाँच गराएको आधारमा यातायात खर्च वापत २ हजार ८ सय पाउँछन् । नवजात शिशुको निःशुल्क उपचार प्याकेजदेखि अन्य सेवा उपलब्ध गराए वापत अस्पतालले सामान्य प्रसूति सेवामा २ हजार ५ सय, जटिलतायुक्त प्रसूति सेवामा ४ हजार र शल्यक्रिया विधिद्वारा प्रसूति गराएमा १० हजार रुपियाँ प्राप्त गर्ने प्रावधान रहेको छ ।

सरकारले २०६५ सालमा 'आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम कार्यविधि निर्देशिका' जारी गरेर मातृ मृत्युदर कम गर्नका लागि कार्यक्रम लागु गरेको हो । अहिले उक्त कार्यविधि निर्देशिका २०७३ सालमा तेस्रो पटक संशोधन गरेको छ । नेपालमा उच्च रहेको मातृ तथा नवजात शिशु मृत्युदरमा कमी ल्याउने उद्देश्यले प्रसुति सेवालाई निःशुल्क रूपमा प्रदान गर्न कार्यक्रम ल्याइए पनि बजेट अभावमा आमा सुरक्षा कार्यक्रम बन्द भएपछि पाल्पाका सुत्केरी महिला र शिशुले पाउने सेवाबाट वञ्चित भएका छन् ।


यज्ञमूर्ति तिमिल्सिना