आमालाई बन्चरो प्रहार गरी हत्या गरेको घटनाका आरोपित गिरफ्तार

  ०७३ भदौ ५ गते 

सक्ला गाविस-१ लैखमकी ६५ वर्षीया देउती खत्रीलाई बञ्चरो प्रहार गरी हत्या गरेको आरोपमा ३८ वर्षीय छोरा बुद्धिबहादुर खत्रीलाई प्रहरीले भदौ ३ गते गिरफ्तार गरेको छ ।

जग्गासम्बन्धी विवाद भएपछि साउन २२ गते आमालाई बञ्चरो प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख इन्स्पेक्टर हिक्मत बोहोराले जानकारी दिए ।

बुद्धिबहादुरले भदौ २ गते आमा हराएको भन्दै सेपुखोला प्रहरी चौकीमा निवेदनसमेत दिएको प्रहरीले जनाएको छ । स्थानीयबासिन्दाले भदौ ३ गते दिएको सूचनाको आधारमा बुद्धिबहादुरलाई प्रहरीले गिरफ्तार गरी अनुसन्धान अघि बढाएको हो ।

प्रारम्भिक बयानको क्रममा खत्रीले जग्गा सम्बन्धी विवाद हुँदा आमाको हत्या गरी खाडलमा गाडेको स्वीकार गरेको इन्स्पेक्टर बोहोराले बताए ।


दिनेशकुमार श्रेष्ठ