आमाबुवा विहीन बालबालिकाको जीवनयापनमा समस्या

  ०७९ माघ २४ गते

बुवाको मृत्युपछि आमाको संरक्षणमा बस्दै आएका साइपाल गाउँपालिका–२ जिमाका तीन बालबालिका तीन महिनादेखि बिचल्लीमा परेका छन् ।

गत मङ्सिरमा आमाले अर्को विवाह गरेपछि जिल्लाको साइपाल गाउँपालिका–२ जिमाका १३ वर्षीया सुनिता बोहरा, १० वर्षीय अर्जुन बोहरा र सात वर्षीया सन्दिपा बोहरा अलपत्र परेका हुन् ।

०७२ असारमा यार्सागुम्बा टिपेर फर्किने क्रममा पीडित बालिकाका बुवा दुर्क बोहराको खोलामा बगेर मृत्यु भएको थियो । त्यसयता उनीहरूको लालनपालन आमा अमृता बोहराले गर्दै आउनु भएको थियो ।

आमाले पनि छाडेर गएपछि विपन्न परिवारका यी बालबालिकालाई दैनिक जीवनयापनमा समस्या हुन थालेको छ ।

वृद्ध बाजेबज्यैको स्याहारको अभिभारा समेत १३ वर्षीया बालिका सुनिताको काँधमा आएको छ । कक्षा ६ मा अध्ययनरत सुनिताले भन्नु भयो– ‘आमाले छोडेर गएपछि राम्रोसँग खान पनि पाएका छैनौँ । भाइबहिनीलाई कसरी पाल्ने ? कसरी पढाउने ? सोच्न सकेको छैन । बाजेबज्यैको रेखदेख कसरी गर्ने ?’

बाजे रतिभान बोहरा र बज्यै रूपा दुवै जनालाई ७४ वर्ष पुगिसकेको छ । अमृताले जडिबुटी टिपेर र स्थानीय स्तरमा ज्याला मजदुरी गरेर परिवार पाल्दै आउनु भएको थियो । अहिले बालबालिकालाई खानलाउन समस्या भएको र खर्च अभावमा पढाइ समेत छुट्ने अवस्था रहेको काका रविन्द्र बोहराले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘हामी आफैं गरिब छौंँ । अहिलेसम्म सहयोग गरे पनि सधैं गर्न नसकिने अवस्था होला ।  बालबालिकाहरुको बिचल्ली हुने भयो ।’

गाउँपालिकाकातर्फबाट केही राहात दिन सकिने भए पनि पीडित बालबालिकाको जीविका र शिक्षाको सुनिश्चितता नहुने भएकाले कुनै संघसंस्थाले संरक्षणमा लिएर  पढाइदिए राम्रो हुने गाउँपालिकाका अध्यक्ष मानबहादुर बोहराले बताउनु भयो ।


सत्यराज सिंह