आमाछोदिङ्मो गाउँपालिकामा एमालेको तर्फबाट अध्यक्षमा दिएको मनोनयन दर्ता रद्द

स्थानीय निर्वाचनमा आमाछोदिङ्मो गाउँपालिकामा नेकपा एमालेले अध्यक्ष पदका लागि दिएको उम्मेदवारी रद्द भएको छ ।
पार्टीले वैशाख १२ गते राति अबेर दुई जनाको उम्मेदवारी दर्ता गराएपछि उम्मेदवारी रद्द भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
निर्वाचन अधिकृत शान्तिप्रसाद लुइँटेलका अनुसार एमालेले सुरुमा तेब्रेल तामाङको उम्मेदवारी दर्ता गराएको थियो ।
तामाङको नाम पूर्व नयाँ शक्तिबाट समानुपातिक बन्द सूचिमा देखिएपछि १२ गते नै फूर्पुसिङ्गी तामाङको नाम दर्ता गराइएको थियो । एउटै पार्टीबाट अध्यक्षमा दुई जनाको नाम दर्ता भएकाले रद्द गरिएको उहाँले बताउनुभयो ।
निर्वाचन कार्यालयले उम्मेदवारी रद्द गराएपछि एमाले कार्यकर्ता आक्रोशित भएका छन् । यस विषयमा समस्या समाधानका लागि निर्वाचन आयोगसँग राय लिने अधिकृत लुइटेलको भनाइ छ ।
आमाछोदिङ्मो गाउँपालिकामा अध्यक्षका लागि सात जना र उपाध्यक्षका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ ।
उम्मेदवारी सुनिश्चित गर्न पाउनुपर्ने माग राखेर स्थानीय नेकपा एमाले कार्यकर्ताले आन्दोलन थालेका छन् ।
एउटै पदमा दुई जनाको मनोनयन दर्ता लिएको र रद्द गराएकोले उम्मेदवारबाट वञ्चित गराउन नहुने एमाले जिल्ला नेता पेम्पा लामाले बताउनुभयो ।


हेमनाथ खतिवडा