आमरण अनशनमा रहनुभएकी बिनु यादवको जीवन रक्षा गरः आयोग

  ०८० जेठ १० गते

सिराहा नगरपालिका-२ की बिनु यादव विगत १५ दिनदेखि काठमाडौँको माइतीघर मण्डलामा आमरण अनशनमा रहनुभएकी र निजको स्वास्थ्य अवस्था नाजुक बन्दै गएकोमा राष्ट्रिय मानव अधिकार आयोगले ध्यानाकर्षण भएको जनाएको छ ।

यादवले आफूलाई विभिन्न व्यक्तिहरूले जबरजस्ती करणी गरेको र सम्बन्धित निकायमा उजुरी गर्दा पनि न्याय नपाएको एवम् जबरजस्ती रुपमा जाहेरी फिर्ता लिन लगाइएको बताएको ०८० जेठ १० गते आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अनशनस्थल पुगी निजको स्वास्थ्य अवस्था सम्बन्धमा जानकारी लिइएको आयोगले जनाएको छ । पहिलेदेखि नै स्वास्थ्यमा विभिन्न समस्या रहेको र अहिले लामो समयदेखि आमरण अनशनमा रहँदा निजको स्वास्थ्य अवस्था थप नाजुक बन्दै गएको अनुगमनको क्रममा पाइएको विज्ञप्तिमा जनाइएको छ ।

अतः अनशनरत यादवको स्वास्थ्यप्रति संवेदनशील भई निजको मागका सम्बन्धमा सम्बन्धित निकायबाट कानुनी कारबाहीको प्रक्रिया अविलम्ब अगाडि बढाई व्यक्तिको जीवनको अधिकार सुनिश्चित गर्न सम्बन्धित सबैलाई आग्रह गरेको आयोगका प्रवक्ता एवम् सहसचिव डाक्टर टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अपडेटः यसैबीच अनशनरत बिनु यादव र सरकारबीच जेठ १० गते नै चार बुँदे सहमतिपछि उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले जुस पिलाएर यादवको अनशन तोड्नुभएको छ । सहमति पत्रमा सरकारको तर्फबाट गृहमन्त्रालयका सहसचिव जितेन्द्र बस्नेतले हस्ताक्षर गर्नु भएको छ ।


दीपकप्रसाद घिमिरे