आमउपभोक्ताको अधिकारप्रति संवेदनशील बन्न आयोगको आग्रह

  ०८१ असोज १९ गते

बाढी पहिरोका घटनाबाट उत्पन्न परिस्थिति तथा चाडपर्व नजिकिँदै जाँदा यातायातका साधनहरुले तोकिएको मूल्य भन्दा बढी भाडा लिएको जस्ता सूचनाहरु सञ्चार माध्यम लगायत विभिन्न सामाजिक सञ्जालमा प्रकाशन भइरहेकोमा राष्ट्रिय मानव अधिकार आयोगले ध्यानाकर्षण भएको जनाएको छ ।

दैनिक उपभोग्य सामग्रीहरुमा मूल्य वृद्धि भएको तथा हवाई यातायातको भाडामा सर्वसाधारणको पहुँच पुग्न नसकेकोलगायतका विषयमा असोज १८ गते विज्ञप्तिमार्फत ध्यानाकर्षण भएको आयोगले जनाएको हो ।

हालैको भारी वर्षाबाट उत्पन्न बाढी, पहिरो र डुबानबाट देशले ठूलो जनधनको क्षति व्यहोर्नुपरेको यस सङ्कटको अवस्थामा व्यवसायिक उत्तरदायित्व बहन गर्दै राज्यलाई सहयोग गर्नु तथा नागरिकको पीडामा मलहम लगाउनु व्यवसायिक क्षेत्रको पनि दायित्व रहने आयोगले जनाएको छ ।

केही दिन अघिदेखि इन्धनको मूल्य घटेको भए पनि यातायात तथा उपभोग्य सामग्रीको मूल्य भने घटेको पाइएको छैन । चाडपर्वमा हुनसक्ने अत्याधिक मूल्य वृद्धि, कालाबजारी, खाद्यान्नमा मिसावट, म्याद गुज्रिएका खाद्यान्नको बिक्री जस्ता उपभोक्ता अधिकार विपरीतका क्रियाकलापलाई नियन्त्रण गर्न सरकारी निकायबाट अनुगमन तथा नियमन हुनुपर्नेमा प्रभावकारी अनुगमन हुन सकेको नदेखिएको विज्ञप्तिमा उल्लेख छ ।

NHRC Nepal Press Release-2081-6-18


दीपकप्रसाद घिमिरे