आफ्ना मागबारे माओवादीका बहिर्गमित लडाकुद्वारा आयोगको ध्यानाकर्षण

  ०७३ कात्तिक २६ गते

बहिर्गमित जनमुक्ति सेना नेपालमा आवद्ध माओवादी पूर्व लडाकुहरूले आफ्ना सात बुँदे मागबारे सत्य निरूपण तथा मेलमिलाप आयोगको ध्यानाकर्षण गराएका छन् ।

photo20161112ktm-2

बहिर्गमित जनमुक्ति सेना नेपालका अध्यक्ष लेनिन विष्टको नेतृत्वमा कात्तिक २६ गते बबरमहलस्थित आयोगको कार्यालयमा पुगेको टोलीले बहिर्गमित लडाकुहरूको विषयलाई आयोगको कार्यक्षेत्र भित्र समेटी माग सम्बोधनका लागि पहल गर्न आयोगको ध्यानाकर्षण गराएको हो ।

ध्यानाकर्षण गराउने क्रममा आयोगका अध्यक्ष सुर्यकिरण गुरूङले माओवादीका पूर्व लडाकुको विषयलाई प्राथमिकताका साथ सम्बन्धित सबै पक्षसँग छलफल गरी सम्बोधनका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएको बहिर्गमित जनमुक्ति सेना नेपालका अध्यक्ष लेनिन विष्टले बताए ।

photo20161112ktm-1

आयोग अध्यक्ष गुरूङले बहिर्गमित पूर्व लडाकुको समस्याबारे आयोग गम्भीर रहेको र लडाकुहरूको विषयलाई आयोगको क्षेत्राधिकार भित्र समेटी आयोगको कामलाई पूर्णता दिनका लागि आफू सकरात्मक रहेको बताएका छन् ।

photo20161112ktm-3

माओवादीका पूर्व लडाकुहरू कात्तिक २२ गतेदेखि काठमाडौँ केन्द्रीत आन्दोलनमा छन् । यसअघि उनीहरूले एकीकृत माओवादी केन्द्र र नयाँ शक्ति नेपालको कार्यालयमा धर्ना दिनेलगायतका कार्यक्रम गरेका थिए ।

फोटो: विमलचन्द्र शर्मा


विवेक ढुङ्गाना