आप्रवासी कामदारको मानव अधिकार संरक्षण प्रमुख मुद्दाः सदस्य पाठक

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठकले आप्रवासी कामदारको मानव अधिकार संरक्षण प्रमुख मुद्दा भएको बताएका छन् ।

१ नं. प्रदेश स्तरीय आप्रवासी कामदारहरूको मानव अधिकारसम्बन्धी क्षेत्रीय सम्मेलनलाई उद्घाटन गर्दै सदस्य पाठकले आप्रवासी कामदारको मानव अधिकार सङ्कटमा रहेको बताए ।

१ नं. प्रदेशका १३ जिल्लाका प्रहरी तथा प्रशासकीय अधिकृत, मानव अधिकारकर्मी र पत्रकारहरू सहभागी सम्मेलनलाई सम्बोधन गर्दै पाठकले २ करोड नागरिक भएको देशमा ६० लाख वैदेशिक रोजगारीमा रहेका आप्रवासीको मानव अधिकार आयोगको पहिलो मुद्दा भएको बताएका हुन् । मानव अधिकार आयोगले कानुनमा भएको अधिकार प्रयोग गरेर काम गर्न चाहेको उनको भनाइ थियो ।

कार्यक्रममा पूर्व क्षेत्रका प्रहरी प्रमुख डिआइजी रमेश भट्टराईले विदेशमा श्रम सहचरी राख्दा सँगै प्रहरी राख्ने व्यवस्था गरे पीडितलाई सहयोग गर्न र घटना अनुसन्धान गर्न सजिलो हुने बताए ।

इन्सेक क्षेत्रीय कार्यालय विराटनगरका संयोजक तथा पूर्वाञ्चल मानव अधिकार सञ्जालका संयोजक सोमराज थापाले आप्रवासी कामदारको अधिकारसम्बन्धी महासन्धिका बारेमा नेपालले छलफल गरी अनुमोदन गर्नु पर्ने बताए । यसका लागि महासन्धिका प्रावधानबारे बहस हुन आवश्यक रहेको उनले औँल्याए ।

विराटनगर महानगरका मेयर भीम पराजुलीले आप्रवासी कामदारका अधिकारबारे सम्मेलनले नीति तय गर्नुपर्ने बताउँदै त्यसलाई महानगरले कार्यन्वयन गर्ने प्रतिबद्धता जनाए । सम्मेलनले सरकारलाई निर्देशन गर्नु पर्नेमा उनको जोड थियो । उनले महिला कामदारका लागि छुट्टै नीति आवश्यक रहेकोमा समेत जोड दिए ।

दुई दिनसम्म चल्ने सम्मेलनले आप्रवासी कामदारको मानव अधिकार संरक्षणका लागि कस्तो नीतिगत व्यवस्था हुनुपर्छ भन्ने सुझावसहितको घोषणापत्र जारी गरेर समापन हुने आयोजकले जनाएको छ ।


शिवप्रसाद ढुङ्गाना