आपतकालिन सेवा केन्द्र नहुँदा पीडित महिला तथा बालबालिकालाई समस्या

  ०७५ कात्तिक १३ गते

जिल्लामा आपतकालिन (अल्पकालिन) सेवा केन्द्र नहुँदा पीडित महिला तथा बालबालिकाको तत्काल बसोबासमा समस्या हुने गरेको छ ।

कतिपय घटनामा पीडित महिला, किशोरी तथा बालबालिकाहरूले पीडकका विरूद्ध उजुरी गरेपछि तत्काल घर तथा परिवारजनको घरमा बस्ने अवस्था हुँदैन । त्यस्तो अवस्थामा केही समयका लागि आश्रय लिने ठाउँ चाहिन्छ । जिल्लामा आपतकालीन (अल्पकालीन) सेवा केन्द्र नहुँदा पीडित पक्षको सुरक्षामा चुनौती थपिएको हो ।

“कतिपय हराएका बालबालिकाहरू भेटिँदा उनीहरूलाई तत्काल राख्ने ठाउँ हुँदैन । यस्तै घरेलु हिंसाबाट पीडित, बलात्कारमा परेका, बेचबिखनमा परेका महिलाहरूले उजुरी दिएपछि घरमै गएर अथवा माईतमा गएर बस्न सक्ने अवस्था हुँदैन ।” जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का महिला सेल प्रमुख दिल कुमारी काफ्लेले भनिन्–“त्यस्तो अवस्थामा उनीहरूको सुरक्षामा समेत चुनौती हुन्छ । त्यस्ता पीडित महिलाहरुका लागि यहा आपतकालिन सेवा केन्द्र नहुँदा धेरै समस्या हुने गरेको छ ।”
नवलपरासी दुई जिल्लामा विभाजन भएको एक वर्ष भएपछि साविकको केन्द्र नवलपरासी पश्चिमको परासीमा परेका कारण अहिले पीडितलाई सो सेवा केन्द्रमा पठाउन नसकिएको काफ्ले बताउँछिन् ।

बेचबिखनमा परेका, उद्धार गरिएका महिला तथा बालबालिकालाई अहिले माइती नेपाल शाखा चितवनमा पठाउने गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का एसपी रमेश थापाले बताए ।

“बेचबिखन घटनाका महिला तथा बालबालिकालाई संरक्षण गृहमा राख्न हामीले माईती नेपाल चितवनलाई पत्र काटेर अनुरोध गर्छौ अनि उहाँहरूले राखिदिनुहुन्छ । तर घरेलु हिंसाका घटनामा पीडित महिला तथा बालबालिकाका लागि भने साह्रै गाह्रो भएको छ ।” थापाले भने । नवलपुर छुट्टै जिल्ला भएकाले यस जिल्लामा तत्कालै एक आपतकालिन सेवा केन्द्र तत्काल संचालन गर्नुपर्ने आवश्यकता रहेको थापाले बताए ।

आपतकालिन सेवा केन्द्र नहुँदा कतिपय अवस्थामा समस्या हुने गरेको महिला अधिकार मञ्च नवलपुरकी अध्यक्ष कल्पना विन्दु गौतमले बताईन् । ‘दिनहुँजसो घरेलु हिंसाका घटनामा पीडित आउँछन् । कतिपय महिला दिदीबहिनीहरुले मुद्धा मामिला चल्दासम्म घर र माईतीमा बस्दिन अन्तै बस्छु भन्छन् । तर कहाँ राख्ने ? कहिले आफ्नै घर त कहिले साथीहरूका घरमा राखेर समेत सहयोग गर्दै आएका छौँ तर उनीहरूको सुरक्षाको पनि कुरा छ । ’ गौतमले भनिन् ।

कावासोती शिवमन्दिर महिला बहुउद्देश्य बचत तथा ऋण सहकारी संस्थाले केहि वर्ष अघि कावासोतीमा एउटा कोठा भाडामा लिएर संचालन सेवा सञ्चालन गरेको थियो । सेवा केन्द्रका लागि आवश्यक कर्मचारी तथा आर्थिक ब्यवस्थापन गर्न नसक्दा सो सेवा विगत एक वर्षदेखि बन्द रहेको संस्थाकी अध्यक्ष खगिसरा गुरुङ्गले बताइन् ।

नवलपुरमा चार वटा नगरपालिका र चार वटा गाउँपालिका गरी आठ वटा स्थानीय तह छन् । सेवा केन्द्र स्थापना गर्न आवश्यक देखिएपनि अहिले नगरपालिकामा सेवा केन्द्र स्थापनाको लागि ठोस कार्यक्रम नरहेको जिल्लाको सदरमुकाम रहेको कावासोती नगरपालिकाका उप प्रमुख प्रेमशङ्कर मर्दनियाले बताए ।

न्यायिक समितिमा आउने केही घटनामा अल्पकालिन सेवा दिनुपर्ने पीडित आउने गरेको भन्दै उनले आगामी वर्ष नगरपालिकाको वार्षीक कार्यक्रममा सेवा केन्द्र स्थापनाको लागि रकम विनियोजन गर्न आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने उनले बताए ।

कावासोती नगरपालिका जिल्लाको सदरमुकाम समेत भएकाले अन्य नगरपालिकासंगको समन्वयमा सेवा केन्द्र स्थापनाको लागि छलफल गर्न तयार रहेको मर्दनियाले बताए ।

देवचुली नगरपालिकाकी उपप्रमुख पार्वता तिवारीले सेवा केन्द्र स्थापनाको लागि नगरपालिकाले आगामी दिनमा कार्यक्रम सञ्चालन गर्ने बताइन् ।


तिर्थराज डुम्रे