आन्दोलनरकारीद्वारा जिल्ला अस्पातालमा धर्ना, सेवा प्रभावित

  ०७५ वैशाख १९ गते

चिकित्सकको लापरबाहीबाट सुत्केरी महिलाको मृत्यु भएको आरोप लगाउँदै पीडित पक्षले जिल्ला अस्पतालमा तालाबन्दी गरी गरेको आन्दोलनका कारण वैशाख १९ गते जिल्ला अस्पतालको आपतकालीन सेवाबाहेक सम्पूर्ण सेवा प्रभावित भएको छ ।

अस्पतालबाट उपलब्ध हुने ओपिडी, एक्सरे र ल्याव परीक्षण सेवा बन्द भएपछि सेवाग्राही मर्कामा परेका हुन् ।

अस्पतालमा उपचार गराउन आएका बिरामी कमल खड्काले भने-'क्षयरोगको सुई लगाउन आएको त अस्पतालमा कोही रहेनछन् । अस्पतालमा निशुल्क पाउने सेवा मेडिकलमा गएर लिनुपर्‍यो ।'

आन्दोलनकारीले यातायातका साधनसमेत सञ्चालन हुन दिएका छैनन् । यातयातका साधन सञ्चालन नहुँदा सेवाग्राही थप समस्यामा परेका छन् । अस्पतालको सेवा प्रभावित भएपछि केही बिरामी उपचारका लागि एम्बुलेन्समार्फत बुटवल र दाङ गएका छन् भने केही बिरामीले निजी मेडिकलमा उपचार गराउनु परेको स्थानीयबासी महेन्द्र श्रेष्ठले गुनासो गरे ।

प्यूठान नपा-२ दाखाक्वाडीकी २३ वर्षीया सुत्केरी महिला राधिका धामीको वैशाख १८ गते शल्यक्रियापछि सोही दिन साँझ करिब ६ बजे मृत्यु भएको स्थानीयबासी मुक्ति पोखरेलले बताएका छन् ।

अस्पतालको लापरबाहीले सुत्केरीको ज्यान गएको आरोप लगाउँदै पीडित परिवारले वैशाख १९ गते बिहानदेखि जिल्ला अस्पतालअघि नाराबाजीसहित धर्ना दिएका छन् ।

साथै आन्दोलनकारीले यातायात सेवासमेत ठप्प पारेका छन् । आन्दोलनका कारण जिल्लामा लामो तथा छोटो दुरीमा चल्ने यातायातका साधन सञ्चालन हुन सकेका छैनन् ।

पीडित पक्ष र प्रमुख जिल्ला अधिकारीसहितको टोलीबिच जिल्ला प्रशासन कार्यालयमा छलफल भइरहेको जिल्ला अस्पतालका निमित्त प्रमुख डक्टर सुशील आचार्यले जानकारी दिए ।


रविन्द्र पाण्डे