आन्दोलनका कार्यक्रम शान्तिपूर्ण रूपमा गर्न मानव अधिकार सञ्जालको आग्रह

नेकपा एमालेको मेची महाकाली अभियान र मधेसी मोर्चाले आह्वान गरेको बन्दका कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न गर्न मानव अधिकार सञ्जाल नेपालगञ्जले एमाले र मधेसी मोर्चालाई आग्रह गरेको छ ।

मानव अधिकार सञ्जाल नेपालगञ्जले फागुन २८ गते मधेसी मोर्चाका अगुवा र एमालेका नेताहरूलाई भेट गरी उक्त अनुरोध गरेको हो । मानव अधिकार सञ्जालसँगको भेटमा तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य विजय गुप्ताले बन्दको कार्यक्रम शान्तिपूर्ण बनाउने प्रतिवद्धता जनाउँदै आफूहरूले भिडन्त नखोजेको बताए ।

सोही पार्टीका केन्द्रीय सहमहामन्त्री पशुपति दयाल मिश्राले चैत १ गते एमालेले नेपालगञ्जमा गर्ने आमसभा कोहलपुरमा गर्नुपर्ने सुझाव दिए । यसैगरी सदभावना पार्टीका केन्द्रीय अनुशासन विभागका अध्यक्ष रामकुमार दिक्षितले मानव अधिकार आयोगले प्रहरी प्रशासनलाई भीड नियन्त्रण गर्ने चरणका विषयमा सचेत बनाउनु पर्ने सुझाव दिए ।

एमालेका बाँके अध्यक्ष अशोक कोइरालाले अभियान शान्तिपूर्ण बनाउने विषयमा आफूहरू संवेदनशील रहेको बताउँदै झडपको स्थिति हुन नदिने प्रतिवद्धता जनाए । झडपको अवस्था आउन नदिन आफूहरूले चैत १ गते नेपालगञ्जको रामलिला मैदानमा हुने भनिएको आमसभाको स्थान कारकादोस्थित सडक डिभिजन अगाडि गर्ने योजना बनाएको बताए ।

जिल्लाको शान्ति सुरक्षाको अवस्था राम्रो बनाउन र कुनै अप्रिय घटना हुन नदिन सर्वपक्षीय/सर्वदलीय बैठकका लागि पहल गर्न एमालेले मानव अधिकार सञ्जाललाई अनुरोध गरेको छ ।

मधेसी मोर्चा र एमालेका नेताहरूसँगको भेटमा राष्ट्रिय मानव अधिकार आयोगका क्षेत्रीय निर्देशक मुरारी खरेलले मानव अधिकार रक्षकहरूले आफ्नो आचारसंहितामा रहेर अनुगमन गर्ने बताए ।

जिल्लामा कुनै अप्रिय घटना हुन नदिन फागनु २९ गते प्रहरी, प्रशासन र राजनीतिक दलहरूसँग संयुक्त बैठक बस्ने तयारी भइरहेको इन्सेक मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालयका संयोजक भोला महतले बताए ।


इन्सेक मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालय, नेपालगञ्ज