आन्दोलनकारीहरूद्वारा सरकारी कार्यालय घेराउ

  ०७३ मङ्सिर २४ गते

सरकारले ५ नम्बर प्रदेश टुक्र्याउने गरी संविधान संशोधनको प्रस्ताव दर्ता गरेको विरोध गर्दै संयुक्त सङ्घर्ष समितिको आह्वानमा मङ्सिर २४ गते बिहान ८ बजेदेखि ११ बजेसम्म अर्घाखाँची बन्द र ९ बजेदेखि १२ बजेसम्म सरकारी कार्यालय घेराउ गरिएको छ ।

संयुक्त सङ्घर्ष समितिको आह्वानमा बिहान ८ बजेदेखि ११ बजेसम्म बजार, उद्योग पसल, साना तथा ठुला सवारी साधन बन्द गरिएको थियो भने ९ बजेदेखि १२ बजेसम्म सबै सरकारी कार्यालयमा मानव साङलो बनाइ सरकारी कार्यलय घेरिएको थियो ।

सरकारी कार्यालय घेराउ गर्दा सेवाग्राही समयमा सेवा लिनबाट बञ्चित भएका थिए यसैगरी बिहान बन्द हुँदा यात्रुलाई गन्तव्य स्थलसम्म पुग्न समस्या भएको थियो ।

इन्सेक पाल्पा जिल्ला प्रतिनिधिका अनुसार संविधान संशोधन प्रस्ताव विरूद्व १० दिनदेखि पाल्पा बन्द तथा प्रदर्शन गर्दै आएका प्रदर्शनकारीहरूले मङ्सिर २४ गते जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् ।

photo20161209palpa

प्रदर्शनकारीले बिहान ८ बजेबाट दिउँसो ३ बजेसम्म धर्ना दिएका थिए । संयुक्त सङ्घर्ष समितिको आयोजनामा १० दिनदेखिको पाल्पा बन्द कायमै छ । बन्दका कारण पाल्पाको जनजीवन थप कष्टकर बन्दै गएको छ ।

मङ्सिर २४ गते पनि बन्दकर्ताहरूले जिल्लाका सरकारी कार्यालयसमेत बन्द गराएका छन् । बन्दका कारण सबै सरकारी निकायहरूले सेवा प्रवाह गरेनन् । प्रदर्शनकारीहरूले बिहानैदेखि जिल्ला प्रशासन कार्यालयको गेटमा धर्ना दिएका छन् । निरन्तरको बन्दले शिक्षा, स्वास्थ्य र व्यापार व्यवसायमा असर परेको छ भने सर्वसाधारणको दैनिकीसमेत अस्तव्यस्त बन्दै आको छ ।

प्रदर्शनका क्रममा स्थानीय कलाकारहरूले सडक नाटक प्रस्तुत गरेका थिए । त्यस्तै गीत तथा नाच समेत प्रस्तुत गरिएको थियो । बन्दका कारण विद्यालय, क्याम्पस खुल्न सकेका छैनन् । सार्वजनिक सवारी पनि चलेका छैनन् ।

धर्नासँगै आयोजित कोणसभामा नेकपा एमाले पाल्पाका अध्यक्ष नारायण आचार्य, नेपाली काङ्ग्रेस पाल्पाका सभापति बीरबहादुर राना, राप्रपा पाल्पाका अध्यक्ष डुँल बहादुर कुँवर, अखण्ड नेपाल पार्टीका अध्यक्ष दिनेश रावल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष विशाल दर्लामीलगायतले सरकारले उक्त प्रस्ताव फिर्ता नलिँदासम्म आन्दोलनलाई जारी राख्ने बताए ।

कार्यक्रम तालिका अनुसार मङ्सिर २५ गते तानसेनमा बृहत मानव साङ्लो प्रदर्शन गरिने नेपाली काङ्ग्रेस पाल्पाका सभापति बीरबहादुर रानाले बताए ।


यज्ञमूर्ति तिमिल्सिना