आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित तिंकरवासी !

  ०८१ असोज १४ गते

व्याँस गाउँपालिका–१ तिंकरका स्थानीय हरेक वर्ष स्वास्थ्य सेवाबाट वञ्चित हुँदै आएका छन् । तिंकरमा आधारभूत स्वास्थ्यचौकी समेत नहुँदा स्थानीयहरु आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित हुनुपरेको हो ।
त्रिदेशीय नाकामा बसोबास गर्ने व्यासी र सौका समुदाय हरेक वर्ष ६ महिना तिंकरमा बसोबास गर्छन् । गत वैशाख अन्तिम साता तिंकर उक्लिएका उहाँहरुले अहिलेसम्म स्वास्थ्यचौकी न स्वास्थ्यकर्मी केहि देखेका छैनन् । सामान्य बिरामी हुँदा पनि भारतीय सुरक्षाकर्मीसँग पुगेर औषधी माग्नु पर्ने बाध्यता रहेको स्थानीय बीरेन्द्र तिंकरीले गुनासो गर्नु भयो ।
धेरै स्थानीयले गाउँ जाँदा सदरमुकाम खलंगाबाटै औषधी बोकेर जार्नु पर्छ उहाँले भन्नुभयो, सामान्य टाउँको दुख्दा समेत स्थानीयले औषधी पाउँदैनन् । यहाँका स्थानीय बिरामी भयो भने अकालमै ज्यान गुमाउनुको विकल्प छैन् ।
छाङ्गरुमा स्वास्थ्यचौकी छ । तर, तिंकर पुग्न पाँच घण्टा हिड्नु पर्छ । गाउँमा बिरामी बोक्ने युवा मान्छे कमै बस्छन् । ज्येष्ठ नागरिकहरु मात्रै गाउँमा छन् । युवाहरु केहि यो वर्ष चीनको ताक्लाकोट व्यापारमा गएका छन् भने कोही सदरमुकाम खलंगामै व्यापार गर्छन् ।
६ महिना हिमपात हुँदा यो क्षेत्रमा बस्न सकिदैन् । चिसो ठाउँ भएको हुँदा स्थानीय बिरामी हुने सम्भावना बढि हुन्छ । तर, राज्यले अहिलेसम्म तिंकरलाई हेर्ने दृष्टिकोण परिवर्तन नगरेको बिरेन्द्र तिंकरीको आरोप छ ।
तिंकरगाउँ भन्दा एक किलोमिटर माथि इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट छ । उनीहरुले पनि आफैले औषधी लिएर गएका हुन्छन् ।
तीन चार वर्षदेखि निर्माण थालिएको स्वास्थ्य भवन अझै पूर्ण हुन नसकेको व्याँस गाउँपालिका वडा नम्बर १ का सचिव विनोदसिंह बुढाथोकीले बताउनु भयो । अहिलेसम्म स्वास्थ्य संस्था सुचारु गर्न सकिने अवस्था थियो, उहाँले भन्नुभयो, तर भवन निर्माण कार्य पूरा गर्नको लागि पनि समयमै बजेट प्राप्त भएन् । यो वर्ष भवन निर्माण कार्य पूरा गरेर स्वास्थ्य भवन निर्माण कार्य पूरा हुने उहाँले बताउनु भयो । तिंकरमा मात्र ७० घरधुरीको बसोबास छ ।
तिंकरमा आगामी वर्षदेखि सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिने र भवन निर्माणपछि जनशक्ति भर्ना गरेर स्वास्थ्य इकाई सुचारु गर्ने तयारी भइरहेको व्याँस गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिह कुँवरले बताउनु भयो । यस आर्थिक वर्षको कात्तिक महिनाभित्र तिंकरवासीहरु ६ महिनाको लागि खलंगा बसाई सर्ने हुँदा स्वास्थ्य संस्था राख्न सम्भव नहुने उहाँले बताउनु भयो ।
नेपालको संविधानको धारा ३५ (१) मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ, धारा (३) मा प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुन र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने उल्लेख गरिएको भए पनि तिंकरवासीहरु वर्षौदेखि आधारभूत स्वास्थ्य सेवा पाउनबाट वञ्चित हुँदै आएका छन् ।


नरेन्द्रसिह कार्की