आधारभूत स्वास्थ्य इकाइको भवन प्रयोगविहीन : सेवाग्राहीलाई सास्ती

  ०८१ असार ७ गते

सिमकोट गाउँपालिका–८ स्थित याङगु आधारभूत स्वास्थ्य इकाइ भवन प्रयोगविहीन भएपछि सेवाग्राहीलाई सास्ती भएको छ । ०७५ सालमा स्थापना भएको उक्त स्वास्थ्य संस्था हाल प्रयोग विहिन बनेको हो । सरकारले गाउँमा स्वास्थ्य इकाइ मात्र बनायो तर त्यसलाई प्रयोगमा नल्याएपछि हाल याङगु गाउँका स्थानीय सेवाग्राही उपचारबाट वञ्चित भएका छन् ।

स्वास्थ्य संस्था विहीनपछि न स्थानीय तहकोे न सरोकारवालाको ध्यान गएको छ । स्वास्थ्य सेवा लिने सेवाग्राहीलाई समस्या भएको याङगु गाउँका स्थानीय मानबहाुर शाहीले बताउनुभयो । गाउँमा रहेको स्वास्थ्य संस्थाको हालत त्यस्तो अवस्थामा रहेपछि स्थानीयहरु स्वास्थ्य सेवा लिन धेरै टाढा रहेको अर्को स्वास्थ्य संस्थामा धाउन बाध्य भएको उहाँले बताउनुभयो ।

आधारभूत स्वास्थ्य इकाइको भवन प्रयोगविहीन भएपछि हाल याङगुका करिब पाँच सय भन्दा बढी नागरिक तीन घण्टा लगाएर सोही वडाको स्याँडा स्वास्थ्य चौकी धाउन बाध्य भएको अर्का स्थानीय भक्तवीर परियारले गुनासो गर्नुभयो ।

सङ्घीय सरकारबाट ३९ लाखमा बनेको चार कोठे भवन प्रयोगविहीन हुँदा जीर्ण हुने अवस्थामा पुगेको स्थानीय परियारको भनाइ छ । स्थानीय सरकारलाई पटक–पटक उक्त भवनको प्रयोग गरेर गाउँका नागरिकलाई सेवा दिने बारेमा आग्रह गरे पनि कुनै सुनुवाइ नभएको स्थानीयले बताएका छन् ।

सिमकोट गाउँपालिका उपाध्यक्ष सुशिला रोकायाले स्वास्थ्य संस्थाको भवन बनाउँदा याङगु र साँता गाउँ बीच पायक पर्ने ठाउँमा नभएका कारण उक्त संस्था ओझेलमा परेको बताउनुभयो ।  दुई ओटा गाउँ बीच भएको विवादले समस्या भएको उहाँले बताउनुभयो ।


नन्द सिंह