आत्महत्या गर्न बाध्य बलात्कृतका मुख्य कसुरदारहरुलाई १३ वर्ष कैद

  ०७९ पुस २८ गते

डाक्नेश्वरी नपा—७ की १७ वर्षीया नन्की भनिने सङ्गिता मण्डललाई सामुहिक बलात्कार गरेको आरोपमा १७ वर्षीय दुई बालकलाई पुस २८ गते जनही १३ वर्ष कैद सजायको फैसला भएको छ ।

जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले आरोपितहरुलाई जनही १३ वर्ष कैदका साथै पीडित परिवारलाई जनही १ लाख रुपियाँ क्षतिपुर्ती वापत भराउने फैसला भएको अदालतले जनाएको छ । बलात्कारको आरोपमा ०७७ असोज १ गते गिरफ्तार भएका आरोपित दुबै बालकहरु असोज २७ गतेदेखि पुर्पक्षका लागि बाल सुधार गृह विरगञ्जमा छन् ।

सोही घटनामा मतियार ठहर गर्दै आरोपित २७ वर्षीय धर्मानन्द मण्डललाई ६ वर्ष ६ महिना कैद र १ लाख रुपियाँ पीडित परिवारलाई क्षतिपुर्ती भराउने फैसला भएको छ । अर्का मतियार २५ वर्षीय विसु भनिने विष्णु मण्डलको हकमा गिरफ्तार भएपछि मुद्दा जगाउने गरी मुल्तबी राख्ने फैसला भएको श्रेस्तेदार कुमार मास्केले बताउनु भयो ।

सामुहिक बलात्कारका चार जना अराोपितविरुद्ध उजुरी गर्न पञ्चहरूले रोक लगाएपछि घटनाको दोस्रो दिन ०७७ भदौ ३० गते सङ्गीताले आत्महत्या गरेकी थिइन् । धानखेतमा पानीको अवस्था हेर्न गएकी पीडितमाथि ०७७ भदौ २९ गते विहान सामुहिक बलात्कार भएको जानकारी दिदै पीडितकी आमाले प्रहरी कार्यालय जान खोज्दा गाउँलेहरूले नै रोक लगाउँदै धम्कीपूर्ण चेतावनी दिएपछि पीडित बालिकाले घरमै पासोमा झुण्डिएर आत्महत्या गरेकी थिइन् । शवको पोष्टमार्टम धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ०७७ भदौ ३१ गते भएको थियो । पीडितकी आमाले इलाका प्रहरी कार्यालय, कल्याणपुरमा ०७७ असोज १ गते उजुरी दिनु भएको थियो ।

सप्तरी जिल्ला अदालतबाट पहिलो पटक गत पुस १८ गते पञ्चहरूलाई कैद सजायको फैसला गर्दै ५० वर्षीय शत्रुघन मण्डल र ४५ वर्षीय उचितलाल मण्डललाई एक वर्ष कैद र २५ हजार रुपियाँ पीडित परिवारलाई क्षतिपुर्ति बापतको रकम भराउने फैसला भएको थियो । कैद सजाय पाएका शत्रुघ्न डाक्नेश्वरी नपा—७ का वडा अध्यक्ष हुन् । उनकै घरमा पञ्चायत बसेको थियो । जिल्ला प्रहरी कार्यालयको टोलीले राजविराजबाट ०७७ पुस ६ गते शत्रुघ्नलाई गिरफ्तार गरेकोमा अदालतले ०७७ पुस ८ गते २ लाख रुपियाँ धरौटी राखी पुर्पक्षका लागि रिहा गरेको थियो ।

पञ्चायतमा सहभागी शत्रुघ्नका दाजु ६५ वर्षीय जयकान्त मण्डल, भाई ४५ वर्षीय देबु मण्डल, सोही उमेरका बिन्देश्वर मण्डल, बंशराज मण्डल, ५० वर्षीय सत्यनारायण मण्डल र ६० वर्षीय बासुदेब मण्डललाई जनही २० हजार रुपियाँ जरिबाना गरी निजहरू सबैबाट जनही २५ हजार पीडित परिवारलाई क्षतिपुर्ति बापतको रकम भराउने फैसला भएको थियो ।

जिल्ला अदालतले शत्रुघ्न, देवु मण्डल, झमेली मण्डल, उचितलाल मण्डल र रामजी भनिने बेचन मण्डललाई साउन २ गते तथा विन्देश्वर मण्डल र वंशराज मण्डललाई साउन १९ गते ’पक्राउ पुर्जी’ जारी गरेको थियो । आत्महत्या दुरुत्साहनमा ०७७ भदौ ३० गते गिरफ्तार जयकान्त, बासुदेव र सत्यनारायण मण्डल ०७७ असोज २७ गते जनही १ लाख १० हजार रुपियाँ धरौटी राखेर पुर्पक्षका लागि रिहा भएका थिए ।

घटना भएकै दिन ०७७ भदौ ३० गते सबैभन्दा पहिले इन्सेक अनलाइनमा ‘बलात्कार घटनाबाट पीडित बालिकाद्वारा आत्महत्या’ शीर्षकको समाचार सार्वजनिक भएको थियो । पहिलो पटक पञ्चहरुलाई कैद सजायको फैसला भएकै दिन पुस १८ गते इन्सेक अनलाइनमा बलात्कार पीडित बालिकालाई आत्महत्या गर्न बाध्य पारेको कसुरमा ुपञ्चुहरूलाई कैद र जरिबाना समाचार सार्वजनिक भएको थियो ।


मनोहरकुमार पोखरेल