आत्महत्याको मुख्य कारण मानसिक रोग

  ०८१ साउन २१ गते

वर्षेनी आत्महत्याका घटना बढ्नुको मुख्य कारण मानसिक रोग रहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को प्रतिवेदनमा उल्लेख छ ।
परिषद्ले सन् २०२० मा जारी गरेको अनुसन्धान प्रतिवेदन अनुसार १३ देखि १७ वर्षको उमेर समूहका व्यक्तिमा ५.२ प्रतिशत र सोभन्दा माथि उमेर समूहका व्यक्तिहरूको जनसंख्याको १० प्रतिशतमा मानसिक रोगका बिरामी छन् ।

नेपालमा ९० प्रतिशतभन्दा बढी मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरू उपचार सेवाबाट वञ्चित छन् ।

कर्णाली प्रदेशमा मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिको संख्या ३ हजार ६ सय नाघेको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले उपलब्ध गराएको विवरणमा प्रदेशभर ३ हजार ६ सय ८६ जना व्यक्तिमा मानसिक समस्या रहेको उल्लेख छ ।

रुकुमपश्चिममा सबैभन्दा बढी अर्थात् १ हजार ३ सय ५३ जनामा मानसिक समस्या छ । सुर्खेतमा १ हजार २ सय ४१, सल्यानमा ५ सय ८९ जनामा मानसिक समस्या छ । यसैगरी, हुम्लामा १ सय ४९, कालीकोटमा १ सय ३४, दैलेखमा १ सय २२, जाजरकोटमा ८४, मुगुमा ११ र जुम्लामा ३ जनामा मानसिक समस्या रहेको निर्देशनालयको विवरणमा उल्लेख छ ।

डोल्पामा भने मानसिक समस्या भएका बिरामी फेला नपरेको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका सूचना अधिकारी नवराज कँडेलले जानकारी दिनु भयो । वयस्कका साथै बालबालिकामा पनि मानसिक स्वास्थ्यको समस्या रहेको पाइएको छ । कर्णाली प्रदेशको कुल जनसंख्याअनुसार १६ लाख ८८ हजारमध्ये ११.७ प्रतिशत जनसङ्ख्या मानसिक स्वास्थ्य समस्याबाट ग्रसित छन् ।

यस्तै, चार प्रतिशत बालबालिका मानसिक स्वास्थ्यको समस्याबाट गुज्रिएको पाइएको कँडेलले बताउनु भयो । सबैभन्दा बढी १ हजार ८ सय ११ जनामा एन्जाइटीको समस्या छ । त्यसपछि ६ सय ३५ जनामा डिप्रेसनको समस्या रहेको विवरणमा उल्लेख छ । छारे रोगका ४ सय ११ जना, मापसेबाट स्वास्थ्य समस्यामा परेका २ सय ३७ र गम्भीर मानसिक रोगका १ सय ९९ बिरामी छन् ।

यसैगरी, निर्देशनालयले विकृत तनाव, अन्य मानसिक समस्या, अन्य मादक पदार्थबाट स्वास्थ्य समस्या, द्विध्रुवीय मानसिक समस्या, बालबालिका तथा किशोर—किशोरीमा भावनात्मक तथा व्यवहारिक समस्या, आत्महत्या प्रयास र बिर्सने रोगका कारण मानसिक समस्यामा परेका व्यक्तिको विवरण सङ्कलन गरेको छ । कर्णाली प्रदेश अस्पतालका मनोचिकित्सक डा. सुशील समदर्शीले कर्णालीका नागरिकमा मानसिक समस्या दिनप्रतिदिन बढिरहेको बताउनु भयो । डिप्रेसनलगायत विभिन्न कारणले वयस्कका साथै बालबालिकामा मानसिक स्वास्थ्यको समस्या देखिएको हो ।

उहाँका अनुसार कर्णाली प्रदेशमा मानसिक समस्या भएकामध्ये १५ देखि ६० वर्ष उमेरसम्मका व्यक्ति धेरै छन् । मानसिक स्वास्थ्यमा स्वास्थ्य बजेटको एक प्रतिशत पनि खर्च गर्न नसकिएको समदर्शीले बताउनु भयो । मानसिक रोगको उपचारका लागि ग्रामिण भेगमा स्वास्थ्य संस्था उपलब्ध छैनन् । केही गैरसरकारी संस्थाहरूको पहलमा सीमित स्वास्थ्य संस्थामा मात्र उपचार सेवा सञ्चालनमा आएका छन् ।

समुदायमा पत्ता लाग्ने मानसिक स्वास्थ्य समस्यामध्ये २८ प्रतिशत डिप्रेसन र ४० प्रतिशत एन्जाइटीसँग सम्बन्धित रहेको डा. समदर्शीले बताउनु भयो । उहाँका अनुसार नेपालमा ५.२ प्रतिशत १३ देखि १७ वर्षका किशोरकिशोरी र १० प्रतिशत १८ वर्षमाथिका वयस्कमा मानसिक स्वास्थ्य समस्या छ । कर्णालीको कुल जनसंख्या अनुसार १६ लाख ८८ हजारमध्ये वयस्क ११.७ प्रतिशत जनसंख्या मानसिक स्वास्थ्यको समस्याबाट ग्रसित छन् । यस्तै, चार प्रतिशत बालबालिका मानसिक स्वास्थ्य समस्याबाट गुज्रिएको उहाँले बताउनु भयो ।

घर–घरमा मानसिक स्वास्थ्यको समस्या भोगेका व्यक्ति रहेको हुँदा यसको उपचार सेवा शहर केन्द्रित मात्रै नभएर जिल्ला तथा पालिकासम्म आवश्यक रहेको उहाँको भनाइ छ ।

मानसिक स्वास्थ्य समस्यामा परेका व्यक्तिहरूले सामाजिक भेदभाव तथा लाञ्छना र अन्धविश्वास बढी भोगेका छन् । डा. समदर्शीले भन्नुभयो, ‘जनचेतनाको अभावले अझै पनि झारफुक र धामीझाँक्रीको भरमा उपचार पर्नुपर्ने अवस्था छ ।’

कलिलो उमेरका बालबालिका मानसिक स्वास्थ्यको समस्याबाट पीडित हुन थालेका छन् । त्यसका लागि राज्यलगायत सबै पक्ष जिम्मेवार बन्नुपर्ने, उच्च मनोबलका साथ मनोपरामर्श र उपचार गर्नुपर्ने सुझाव डा. समदर्शीको छ ।

मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिको पहिचान नखुल्ने, पहिचान खुले पनि नियमित औषधि सेवन नगर्ने, विश्वासको कमी र सूचनाको अभाव लगायतका समस्या समुदायमा देखिएको मानसिक स्वास्थ्यका क्षेत्रमा कार्यरत सिएमसि नेपालका प्रादेशिक प्रमुख हिमाल गैरेले जानकारी दिनु भयो ।


मानदत्त रावल