आठ वर्षसम्म विद्यालय भवन पूर्णनिर्माण हुन नसकेपछि विद्यार्थीहरु चुहिने छाँनोमूनि अध्ययन गर्न बाध्य

  ०७९ साउन ३१ गते

बुढिनन्दा नगरपालिका–२ स्थित जनप्रकाश माविको १५ कोठे भवन निर्माण सम्पन्न हुन नसकी आठ वर्षदेखि अलपत्र भएपछि विद्यार्थीहरु पुरानो चुहिने भवनको छाँनोमूनि बसेर अध्ययन गर्न बाध्य भएका छन् ।

भारतीय दुताबासको सहयोगमा निर्माणाधिन जनप्रकाश माविको भवन निर्माण पुरा नभएर अलपत्र अवस्थामा रहदै आएपछि विद्यार्थीहरुलाई अध्ययन गर्न समस्या भएको हो ।

जनप्रकाश माध्यामिक विद्यालयमा ४ सय ६६ जना छात्र र  ५ सय ६७ जना छात्रा गरी १ हजार ४३ जना विद्यार्र्थीहरु अध्ययनरत रहेका भएपनि आठ वर्ष अगाडी निर्माण सुरु गरिएको विद्यालय भवन निर्माण कार्य अलपत्र अवस्थामा रहेकोले विद्यार्थीहरुलाई समस्या उत्पन्न भएको बुढीनन्दा नगरपालिका शिक्षा शाखाका प्रमुख दयाराम जोशीले बताउनु भयो ।

भारतीय दुताबासको सहयोगमा निर्माण भइरहेको जनप्रकाश उमाविको भवन ठेकेदारको लापरवाहीका कारण अलपत्र परेको जिल्ला समन्वय समिति, बाजुरा प्रमुख तुलसीराम रोकायाले बताउनु भयो ।

भवन निर्माणका लागि २०७२ चैत २८ गते सम्झौता भएको थियो । सम्झौता भएको मितिले १५ महिनामा निर्माण सम्पन्न गरी सक्नु पर्ने सम्झौता रहेको थियो । निर्माण कम्पनीले ३० प्रतिशत मात्र काम गरेर भवन अलपत्र अबस्थामा रहेको जिल्ला समन्वय समिति बाजुराका सूचना अधिकारी दिपेन्द्र पाण्डेले बताउनु भयो ।

भारतीय दुतावसको आर्थिक सहयोगमा दुई ओटा छात्राबास भवन र एक विद्यालय भवनका लागि तत्कालिन जिल्ला विकास समिति र गाल्वा निर्माण सेवा प्रालीसँग ४ करोड ४४ लाख ७२ हजार ४ सय ४४ रुपियाँमा सम्झौता भएको भएपनि ३० प्रतिशत मात्रै काम सम्पन्न भएको भएपनि भवन अपपत्र अवस्थामा जिल्ला समन्वय समितिका सूचना अधिकारी पाण्डेको भनाइ छ ।

निर्माण कार्यका लागि ठेक्काको जिम्मा लिएको गाल्वा निर्माण सेवा प्रालीका ठेकेदारको लापरवाहीका कारण काम हुन नसकेको स्थानीय जनेश भण्डारीले बताउनु भयो ।

भवन निर्माण गर्ने नाममा हालसम्म १ करोड २० लाख १८ हजार ९ सय ३५ रुपिँया खर्च भएको जनाइएको भएपनि १५ महिनामा काम गरिसक्ने सम्झौता भए अनुरुप ठेकेदारले काम नगरेको कारण विद्यालय भवन आठ वर्ष वितिसक्दा समेत निर्माण हुन नसकेको जनप्रकाश माविका प्रचार्य अनोज गिरीले बताउनु भयो ।

पुराना भवन जीर्ण भएर चुहिएर विद्यार्र्थी बस्न लाएक छैनन् । भवनका लागि अन्य निकाएमा धाउँदा अलपत्र भएको भवन निर्माण नभएको भन्दै नयाँ भवन दिन आनाकानी हुँदा समस्या भएको प्राचार्य गिरीको भनाइ छ ।

तत्कालिन जिल्ला बिकास समितिका प्रमुख स्थानीय बिकास अधिकारी अर्जुनप्रसाद सुबेदी भारतिय दुताबासका प्रतिनिधि ज्ञानविर सिहं र जनप्रकाश माध्यामिक विद्यालयका प्राचार्य अनोजराज गिरीबिच सन् २०१५ नोभेम्बर ६ तारिखमा तीन पक्षिय सम्झौता भएको थियो । निर्माण भएको ३० प्रतिशत काम पनि पुनः गर्नु पर्ने अबस्थामा पुगेको छ ।

यता पुराना भवनहरु सबै जीर्ण भएर चुहिने अवस्थामा रहेकोले वर्षातको समयमा पानी पर्न बित्तिकै विद्यार्थीहरुलाई घर पठाउनु पर्ने अवस्था रहेको विद्यालयका प्रचार्य अनोजराज गिरीले बताउनु भयो ।

साउन १३ गते मात्रै बुढिनन्दा नगरपालिकाका प्रमुख जनककुमार बोहरा र जनप्रकाश माविका प्राचार्य अनोजराज गिरी लगायतको टोली भारतीय दुतावासमा पुगेर पूर्णनिर्माण हुन नसकेको विद्यालय भनव निर्माण बारे छलफल भएको थियो ।

भारतीय दुताबाससँग भएको छलफलपछि भारतीय दुताबासकै टोली कोल्टि पुगेर स्थलगत अनुगमन गरेको र तत्काल निर्माण कार्य अगाडी बढाउने सहमति भएकोले केही महिनापछि विद्यार्थीहरुले समस्या झेल्नु नपर्ने नगरप्रमुख बोहोराले बताउनु भयो ।

Photo20220816bajura


पदमबहादुर सिंह