आठ महिनासम्म प्रहरीले उजुरी दर्ता नगरेको पीडित पक्षको गुनासो

रास्कोट नपा-१ का १९ वर्षीय सत्य टमटालाई कुटपिट गरी हत्या गरेको घटनामा संलग्नलाई कारबाहीको मागगर्दै आठ महिनाअघि नै उनका परिवारले सोही ठाउँका १९ वर्षीय कृष्ण टमटा र २२ वर्षीय रमेश टमटाविरुद्ध दिएको उजुरी जिल्ला प्रहरी कार्यालय कालिकोटले दर्ता नगरेको पीडित पक्षले गुनासो गरेको छ ।

सत्यलाई आरोपितहरूले ०७४ साउन १३ गते कुटपिट गरी हत्या गरेको पीडित पक्षको आरोप छ । पीडित पक्षले साउन २४ गते जिल्ला प्रहरी कार्यालयमा घटनाको अनुसन्धान गरी दोषीलाई कानुनी कारबाहीको मागगर्दै निवेदन दिएका थिए ।

उक्त निवेदन दर्ता नभएपछि पीडितका परिवारले दोस्रो पटक आरोपितविरुद्ध कात्तिक २२ गते कर्तव्य ज्यान मुद्दामा किटानी उजुरी दिएका थिए । ठाडो निवेदन र किटानी उजुरी दुवै प्रहरीले दर्ता नगरेपछि चैत २२ गते मान्म बजारमा पत्रकार सम्मेलन गरेर पीडित पक्षले यस्तो गुनासो गरेको हो ।

मृतकका बावु देउमल टमाटाले भने-'मेरो छोरालाई मारियो । मैले उजुरी दिँदा दर्ता गर्न मिल्दैन भन्दै फर्काउने गरेकोले पत्रकार र अधिकारकर्मी राखेर पत्रकार सम्मेलन गर्नु परेको हो ।'

जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी सुवासचन्द्र बोहोराले मृतकको लास नभएकाले मुद्दा दर्ता गर्न नसकिएको प्रतिक्रिया दिए ।

घटनाको रहस्य सुरूमा नखुलेपछि मृतकका परिवारले शवको पोष्टमार्टम नगरी 'सदगत' गरेका थिए । घटनाको विस्तृत विवरणपछि खुलेपछि मृतकका परिवारले उजुरी दिएको जनाइएको छ ।

सरकारी वकिल उत्तम थापाले नेपाल ऐन सङ्ग्रह खण्ड-२ सरकारी मुद्दासम्बन्धी ऐन-२०४९ को उपदफा ५ बमोजिम उजुरी दर्ता गर्न मिल्ने बताए ।


कालीबहादुर मल्ल