आचार संहिता विपरीत सार्वजनिक स्थलमा प्रचार सामग्री

निर्वाचन आचार संहितको पुर्ण रूपमा कार्यान्वयन गर्न प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जिल्लाका राजनीतिक दलहरूलाई आग्रह गरेका छन् ।

निर्वाचन आचार संहितामा सार्वजनिक स्थलहरूमा दलको पोष्टर पम्पलेट टाँस्न नपाइने व्यवस्था भएपनि जिल्लाका केही सार्वजनिक स्थलहरूमा दलका झण्डा र पोष्टर पम्पलेट टाँसेको पाइएको भन्दै दलहरूलाई सचेत गराइएको हो ।

वैशाख १७ गते निर्वाचन कार्यालमा दर्ता भएका १६ दलका प्रमुख तथा प्रतिनिधि सँगको छलफलमा बस्नेतले सार्वजनिक ठाँउमा राखिएको झण्डा र पोष्टर हटाउन राजनीतिक दललाई आग्रह गरे ।

'व्याक्तिको राजिखुसी आफ्नो घरमा दलीय झण्डा राख्न पाउँछ । कुनै करकाप व्याक्तिको घरमा पनि झण्डा र प्रचार सामग्री नराख्नुस् ।'-बस्नेतले भने-'अहिले सार्वजनिक स्थलमा राखिएका झण्डा र पोष्टर आफैँ झिक्नुस् । हामीले प्रहरी लगाएर झिक्यौँ भने विवाद हुन सक्छ ।' प्रहरी लगाएर पोष्टर पम्पलेट झिक्दा राम्रो सन्देश नजाने भन्दै त्यस्ता गतिविधि रोक्न प्रजिअले दलहरूलाई आग्रह गरेका हुन् ।

विद्यालयहरूमा पार्टीको कार्यक्रम नराख्न पनि प्रजिअले दलहरूलाई आग्रह गरेका छन् । 'विद्यालय शान्तिक्षेत्र घोषणा भइसकेको छ । विद्यालयहरूमा कार्यक्रम गर्दै नगर्नुस् ।'-उनले भने । निर्वाचन शान्तिपुर्ण बनाउन एकीकृत सुरक्षा योजना बनाएको भन्दै कोही कसैसँग निर्वाचनमा खलल पुग्ने सामग्री भेटिएको खण्डमा कानुन बमोजिमको कारबाही हुने पनि प्रजिअले चेतावनी दिएका छन् ।


हरिराम उप्रेती