आचारसंहिता विपरीत स्वास्थ्य शिविर सञ्चालन गरेको भन्दै उजुरी

निर्वाचनमा मतदातालाई प्रभाव पार्ने हिसावले निर्वाचन आचारसंहिता विपरीत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेको भन्दै नेपाली काङ्ग्रेस मोरङ क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार सुनील शर्मा न्यौपानेविरुद्ध नेकपा एमालेको अगुवाइमा बाम गठबन्धनले कात्तिक १७ गते उजुरी गरेको छ ।

बाम गठबन्धनका तर्फबाट मोरङ-३ का प्रतिनिधि सभाका उम्मेदवार रहेका एमालेका भानुभक्त ढकालले मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यसमक्ष निर्वाचन आचारसंहिता विपरीतको सो गतिविधि रोक्न उजुरी गरेका हुन् ।

मङ्सिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवारीसमेत दर्ता भइसकेको अवस्थामा त्यसखाले गतिविधि गर्नु निर्वाचन आचारसंहिताको ठाडो उल्लङ्घन भएको जनाउँदै त्यस्तो कार्य तत्काल रोक्न माग गरेको ढकालले बताए ।

न्यौपानेविरुद्ध क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरमासमेत उजुरी परेको र सो विषयमा निर्वाचन आयोगमा जानकारी गराइएको क्षेत्रीय निर्वाचन अधिकृत प्रेमप्रसाद सञ्जेलले जानकारी दिए ।

न्यौपाने सञ्चालक रहेको विराटनगरस्थित नोबेल मेडिकल कलेजबाट मोरङ क्षेत्र नम्बर ३ मा निःशुल्क स्वास्य शिविर सञ्चालन गर्ने र बस प्रयोग गरेर अस्पताल ल्याउनेलैजाने गरेको भन्दै उजुरी परेको हो ।


इन्दिरा भट्टराई