आचारसंहिता विपरीत गतिविधि गरेको भन्दै स्पष्टीकरण माग

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको भन्दै नेकपा (एमाले) तर्फबाट धादिङ, थाक्रे गाउँपालिकाका अध्यक्षका उम्मेदवार रामकुमार आचार्य र उपाध्यक्षका उम्मेदवार अम्बिका रुपाखेतीसँग चौबीस घण्टे स्पष्टीकरण सोधेको राससले जनाएको छ ।

स्थानीय तह निर्वाचनको प्रचारप्रसारको सिलसिलामा एमाले उम्मेदवारले वैशाख २५ गते तीन ट्रक प्रचारकसहितको स्कारपियो गाडी, ब्यानर एवम् दल र निर्वाचन चिह्नसहितको टि–सर्टलगायत निर्वाचन आचारसंहिता, २०७२ र स्थानीय तह निर्वाचन आचारसंहिता, २०७३ विपरीत मोटरसाइकल र्‍याली निकालेको भन्दै स्पष्टीकरण सोधिएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

आयोगले सोधेको स्पष्टीकरणमा भनिएको छ, “निर्वाचन आचारसंहिता विपरीत काम कारबाही गरेको कसुरमा हदैसम्मको कारबाही किन नगर्ने ? कारबाही गर्नु नपर्ने कुनै कारण भए पत्र प्राप्त भएको मितिले २४ घन्टाभित्र आयोगसमक्ष स्पष्टीकरण पेस गर्न आदेशानुसार अनुरोध छ ।”

धादिङको निर्वाचन तयारी तथा शान्ति सुरक्षाको अवस्थाबारे जानकारी लिन धादिङबेँसी पुगेका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव स्वयम्ले सिम्लेमा उम्मेदवारहरुले आचारसंहिता विपरीतका गतिविधि गरेको फेला पारेको अआयोगले जनाएको छ । सो क्रममा डा यादवले तत्काल र्‍याली रोक्नसमेत निर्देशन दिएका थिए ।

यस्तै आयोगले फेसबुकमार्फत गलत सूचना सम्प्रेषण गरी आचारसंहिताको उल्लङ्घन गरेको भन्दै नेकपा (माओवादी केन्द्र) संसदीय दलका सचेतक सीता नेपालीसँग पनि स्पष्टीकरण सोधेको छ । सचेतक नेपालीले आयोगका प्रवक्ताको भनाइ भन्दै‘माओवादी केन्द्र-१४५, नेपाली काङ्ग्रेस-१३५, नेकपा (एमाले)-२५, राप्रपा-२ र नयाँ शक्ति-१’ ठाउँमा निर्विरोध निर्वाचित भएको गलत सूचना फेसबुक स्टाटसमा राखेको भन्ने उजुरीका आधारमा स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।

यसैबिच प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आसन्न स्थानीय तहको निर्वाचनमा मतदातलाई धम्क्याएर होइन,मन जितेर मत प्राप्त गर्न सकिने बताएका छन् ।

जिल्लाको निर्वाचन तयारी तथा शान्तिसुरक्षाको अवस्थाबारे जानकारी लिन वैशाख २५ गते धादिङबेँसी पुगेका प्रमुख निर्वाचन आयुक्त डा. यादवले निर्वाचन आयोगद्वारा आयोजित सरोकारवालसँगको अन्तरक्रियामा मतदाताको मन जितेर मत प्राप्त गर्न राजनीतिक दल तथा उम्मेदवारसँग आग्रह गरे ।

उनले यो निर्वाचन विगतको जस्तो स्थानीय निकायको नभई स्थानीय तहलाई अधिकार सम्पन्न बनाउन स्थानीय सरकार गठन गर्ने भएकाले उत्साहित भएर निर्वाचनमा भाग लिन मतदातालाई आग्रह गर्दै निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउन सबैको सहयोगको अपेक्षा राखे ।


अनलाइन डेस्क