आचारसंहिता उल्लङ्घन गर्दै रङ्गीन पोष्टर प्रकाशन

नेकपा माओवादी केन्द्र रुपाकोट मझुवागढीले चुनावी प्रचारप्रसार सामग्रीमा निर्वाचन आचारसंहिता उल्लङ्घन गर्दै रङ्गीन पोष्टर प्रकाशन गरेको छ । चुनावी प्रचारप्रसारको क्रममा आफ्नो प्रतिबद्धता पत्र चार ओटा रङ्गमा प्रकाशन गरी आचारसंहिता उल्लङ्घन गरेको हो ।

निर्वाचन प्रयोजनको लागि प्रयोग गरिने सामग्री पचहत्तर ग्रामसम्मको कागजमा कुल क्षेत्रफलको तीनसय वर्ग इन्चसम्म आकारको एउटै रङ्गको र मुद्रकको नामसहितको पर्चामात्र प्रयोग गर्नुपर्ने निर्वाचन आचारसंहितामा उल्लेख भए पनि यसको विपरीत रुपाकोट मझुवागढी नेकपा माओवादी केन्द्रका प्रमुख दुर्गाजयन्ती राई र उपप्रमुख होमकाजी आचार्यले प्रतिबद्धता पत्रमा आफ्नो फोटोलाई आकर्षक देखाउन गोलाकार घेरमाभित्र उम्मेदवारको रङ्गीन फोटो र गोलाकार घेरामा रातो, हरियो निलो र कालो रङ्गको प्रयोग गरी निर्वाचनसंहिता उल्लङ्घन गरेका छन् ।


सुनिता मगर