आचारसंहिता उल्लङ्घन गरेको आरोपमा आयोगद्वारा स्पष्टीकरण

  ०७९ कात्तिक १६ गते

प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नेकपा एमालेका नेता योगेश भट्टराईलाई प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जारी गरिएको निर्वाचन आचारसंहिता ०७९ विपरित गतिविधि गरेको आरोपमा निर्वाचन आयोगले प्रष्टीकरण सोधेको छ ।

आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि निर्वाचन आचारसंहिता विपरित भट्टराईले २५ जना भन्दा बढीलाई सहभागी गराएर घरदैलो अभियान सञ्चालन गरेको आरोपमा प्रष्टीकरण सोधेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगको इ–बुलेटिनमा कात्तिक १६ गते प्रकाशित समाचारमा २५ जना भन्दा बढीलाई घरदैलो कार्यक्रममा समावेश गरेको विषय आचारसंहितता विपरित भएकाले प्रष्टीकरण सोधिएको आयोगको भनाइ छ ।

सिरीजङ्गा गाउँपालिका–३ सिकैचामा घरदैलो अभियानमा आचारसंहिता विपरित भिड गरेको उजुरीका आधारमा आयोगले प्रष्टीकरण सोधेको हो ।

प्रतिनिधिसभा उम्मेदवार भट्टराईले उक्त घरदैलो अभियानको तस्बिर आफ्नै फेसबुक पेजमा समेत राखेको निर्वाचन आयोगले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृतकको कार्यालय ताप्लेजुङका सहायक निर्वाचन अधिकृत शम्भुप्रसाद रेग्मीले केन्द्रमै उजुरी परेको आधारमा जवाफ माग गरिएको बताउनु भएको छ ।


देवराज गुरुङ