आचारसंहिता उल्लङ्घनका एक दर्जनभन्दा बढी उजुरी

दार्चुलामा आचारसंहिता उल्लङ्घनका एक दर्जनभन्दा बढी उजुरी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचनको समय नजिकिँदै आउँदा निजामति कर्मचारी, गैरसरकारी सङ्घसंस्था स्थानीय तह र राजनीतिक दल र सञ्चार माध्यमहरूको नाममा उजुरी परेको हो । राजनीतिक दलका तर्फबाट परेका उजुरीहरूमाथि अनुसन्धान भइरहेको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले जानकारी दिए ।

निजामति कर्मचारीहरूले सामाजिक सञ्जालमार्फत पार्टीको प्रचारप्रसार गरेको तथा विपक्षी पार्टीलाई गालीगलौज गरेको उजुरी परेको जनाइएको छ ।

सहकारी सङ्घसंस्था, गैरसरकारी सङ्घसंस्थामा कार्यरत कर्मचारीहरूले समेत निर्वाचनको समयमा आचारसंहिता विपरीत प्रचारप्रसार गर्ने तथा नयाँ कार्यक्रम सञ्चालन गरेको भन्दै उजुरी परेको छ ।

यस्तै व्यास र दुहु गाउँपालिकाले निर्वाचनको समयमा नयाँ कार्यक्रममार्फत मतदाता प्रभावित गर्न खोजेको भन्दै स्थानीयले आपत्ति जनाएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयल आचारसंहिता उल्लङ्घन गर्नेलाई कारबाही गर्ने बताइरहेको बेला दार्चुलामा आचारसंहिता उल्लङ्घनका उजुरी बढ्दै गएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले भने पहिलो चरणमा गम्भीर प्रकृतिका उजुरी नपरेको जनाए । उनले परेका उजुरीमाथि छानबीन भएर स्पष्टीकरण माग्ने काम भएको बताए ।


नरेन्द्रसिह कार्की