आगो तापेर रात कटाउँछन् चेपाङ समूदाय

  माघ ४ गते

चेपाङ समूदायको मात्र बसोबास भएको क्षेत्र बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर २ को मासखर्क पृथ्वीराजमार्गको मलेखुबाट १५ किलोमिटर दक्षिणतर्फ पर्ने भिरालो गाउँ हो जहाँ सबैका घरमा खाद्यन्नको समस्या छ । 

आफ्नो उत्पादनले वर्षभरी खान नपुग्ने समूदायको बसोबास भएको मासखर्कमा खाद्यन्न लगायतको अभावले घेरिएको भए पनि गाउँमा विद्यालय भने सञ्चालनमा रहेको छ । 

ज्याला मजदुरी पाइएको समय पेटभरी खान र बचत भएको पैसाले कपडा किन्ने गरेका चेपाङ समूदाय वर्षौँदेखि अभाव र गरिबीबाट माथी उठ्न सकेका छैनन्। 

आमाले घर छाडेर हिँडेपछि बुवाले दोश्रो विवाह गरेका कारण वृद्ध हजुरआमाकोमा आश्रय लिएर बसिरहेका १० वर्षीया शान्ति चेपाङ८ वर्षीय  शुशिल चेपाङ र ६ वर्षीय इशाख चेपाङ विद्यालय न्यानो लुगाको अभाव हैन घरमा लगाउने र सुत्ने कपडाको अभावमा बसिरहेका छन्। 

दिउँसो घाम लाग्छ । जब राती पर्छ दिउँसो जम्मा गरिएको दाउरा बालेर रात कटाउनु उनिहरूको दैनिकी हो । एउटा चेपाङ परिवार मात्र होइन । यस क्षेत्रका ४२ घर चेपाङ परिवार न्यानो कपडा अभावमा आगो तापेर रात कटाउनु पर्ने अवस्था छ । 

यस क्षेत्रमा सबै चेपाङ समूदायको अवस्था उस्तै छ । खाना खानकै लागि समस्या छ भने लगाउने र सुत्ने कपडा अभावमा आगो बालेर रात कटाउनु पर्ने अवस्थामा रहेको स्थानीय कृष्णबहादुर चेपाङ बताउनुहुन्छ । 

प‍‌‌‍‍ञ्चकन्या आधारभुत विद्यालयमा यस वर्ष भर्ना भएका ६९ जना विद्यार्थी सबैको समस्या खाना र नाना रहेको विद्यालयका शिक्षक श्री चेपाङले बताउनुभयो । 

विद्यालय खाजा लागु भएपछि विद्यार्थीहरू गाउँमा नबसी सबै विद्यालय आउँछन् । आधा जति विद्यार्थी  त बिहान खाना नखाइ विद्यालय आउने र खाजाको भरमा गुजारा गरिरहेको आफूले देखेको शिक्षक चेपाङको भनाइ छ । तर लगाउने लुगा अभाव भने सबैलाई रहेको छ । 

स्थानीय सरकारले गरिबी हटाउन काम गर्ने भनेर भोट मागेर निर्वाचित भएको दोश्रो कार्यकाल समेत सुरु भइसकेको छ तर चेपाङ समूदायका लागि खास योजना ल्याउन नसकेको र ग्रामीण क्षेत्रको अवस्थामा परिवर्तन आउन नसकेको मासखर्कका कृष्ण चेपाङले बताउनुभयो। 


सीताराम अधिकारी