आगोले जलाएर हत्या गरिएको घटनाको महिला आयोगद्वारा अनुगमन

  ०७८ माघ २५ गते

राष्ट्रिय महिला आयोगको टोलीले बोदे बसाईन नगरपालिका–१ धनगढीमा आगोले जलाएर महिलाको हत्या गरिएको घटनाको माघ २४ गते अनुगमन गरेको छ ।

आयोगकी अध्यक्ष कमला पराजुली र सदस्य जया घिमिरेसहितको टोलीले घटनाको विषयमा पीडितको घर पुगी मृतकका पति, छोराछोरीलगायत परिवारका सदस्यहरू, गाउँले छिमेकी, वडा अध्यक्ष धिरेन्द्रकुमार यादव र एसपी अविनारायण काफ्लेसँग भेटेर घटनाको बारेमा जानकारी लिएको छ ।

अध्यक्ष पराजुलीले मृतकका पति रविनकुमार साहसँग दोषीलाई कानुन बमोजिम कारवाही गराउने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

photo20220209saptari (3)

यस्तै उहाँले एसपी काफ्लेलाई सुक्ष्म ढङ्गले तिव्रताका साथ अनुसन्धान गरी आरोपितलाई नियन्त्रणमा लिन आग्रह गर्नु भयो ।

मृतककी दुई वर्षीया छोरी र आठ वर्षीय छोरा छन् । सिरहाको लहानस्थित एक निजी विद्यालयमा एलकेजीमा अध्ययनरत छोरा आमाको क्रियामा बसेको टोलीले जानकारी दियो ।

दुई वर्षीया छोरीले निरन्तर आमाको खोजी गरेपछि बोदे बर्साइन नगरपालिका–६ स्थित मामाघर पठाएको मृतकका पतिले बताउनु भयो ।

बोदे बर्साईन नगरपालिका–१ धनगढीकी २७ वर्षीया राजकुमारी साहलाई माघ २१ गते बिहान घरमा खाना पकाइरहेका बेला २१ वर्षीय देवर प्रमेश्वर साहले पेट्रोल छर्केर आगोले जलाएको आरोप छ ।

जलेर घाइते भएकी पीडितको उपचारका क्रममा माघ २३ गते राति विराटनगरमा मृत्यु भएको थियो । शवको पोष्टमार्टमा कोशी अस्पतालमा माघ २४ गते गरिएको छ ।

photo20220209saptari (1)


मनोहरकुमार पोखरेल