आगोले जलाएर भाउजुको हत्या

  ०७८ माघ २४ गते

बोदे बर्साइन नगरपालिका–१ धनगढीकी २७ वर्षीया राजकुमारी साहको हत्या २१ वर्षीय देवर परमेश्वर साहले गरेको भन्दै मृतकका बुबा बोदे बर्साइन नगरपालिका–६ का बद्री साहले इलाका प्रहरी कार्यालय कडरबोनामा माघ २३ गते उजुरी दिनुभएको छ ।

शरीरमा पेट्रोल छर्केर आगो लगाई हत्या गरेको भन्दै मृतकका बुबा बद्री साहले परमेश्वरविरुद्ध किटानी उजुरी दिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले बताउनु भयो ।

बोतलमा पेट्रोल ल्याएका परमेश्वरले माघ २१ गते चुल्होमा खाना पकाइरहेकी भाउजुको शरीरमा पेट्रोल छर्केर आगो लगाएको मृतकका बुबाको आरोप छ ।

आगोमा जलेर गम्भीर घाइते भएकी राजकुमारीको उपचारका क्रममा माघ २२ गते विराटनगरमा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । मोरङ प्रहरीका अनुसार शवको पोष्टमार्टम माघ २३ गते कोशी अस्पताल विराटनगरमा गरिएको छ ।

उपचारकै क्रममा मृत्यु भएपछि मृतकका बुबाले जिल्ला प्रहरी कार्यालय मोरङमा समेत उजुरी दिएको बताउनु भयो ।

मोरङ प्रहरीकै सुझावमा माघ २३ गते इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीमा उजुरी दिएको उहाँले बताउनु भयो ।

हत्याका आरोपित फरार रहेकोले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले बताउनु भयो ।

डिएसपी काफ्लेले आगो लगाउनुको कारण नखुलेको र फरार आरोपितको खोजी भइरहेको बताउनु भयो ।


मनोहरकुमार पोखरेल