आगामी स्थानीय तह निर्वाचनमा दुई किसिमका मतपत्र प्रयोगमा ल्याउने तयारी छः प्रमुख निर्वाचन आयुक्त थपलिया

  ०७९ साउन ४ गते

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी स्थानीय तहको निर्वाचनमा प्रमुख र उपप्रमुखको एउटा मतपत्र तथा वडा अध्यक्ष र सदस्यहरुको अर्को मतपत्र हुने व्यवस्था गरिने बताउनु भएको छ ।

काठमाडौँमा साउन ४ गते आयोग र जियोकले संयुक्त रूपमा आयोजना गरेको पर्यवेक्षण संस्थाहरुले बुझाएको स्थानीय तह निर्वाचनको प्रतिवेदनमाथि समीक्षा र निर्देशिका संशोधनसम्बन्धी कार्यशालामा उहाँले सो कुरा बताउनु भएको हो ।

'आगामी निर्वाचनमा प्रमुख र उपप्रमुखको मत गणना केन्द्रमा अर्थात् निर्वाचन अधिकृतको कार्यालयमा, बाँकी मतपत्र वडामै गन्ने र वडाबाटै नतिजा प्रकाशन गर्ने गरेर हामीले कानुनको तयारी गरिरहेका छौँ ।'-उहाँले भन्नु भयो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले पर्यवेक्षण संस्थाहरुले निर्वाचन आयोगलाई दिएको प्रतिवेदनका आधारमा आवश्यक सुधार र सशोधन गर्ने बताउनु भयो ।

कार्यक्रममा इन्सेककी अध्यक्ष डा. इन्दिरा श्रेष्ठले मतगणनामा देखिएको झञ्झटलाई न्यूनीकरण गर्न आगामी दिनमा प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षका लागि छुट्टै र वडाका प्रतिनिधिहरूका लागि छुट्टै मतपत्रको व्यवस्थापन गर्नु पर्ने बताउनु भयो ।

उहाँले विषयकेन्द्रीत काम गर्ने सामाजिक सङ्घसंस्थालाई सोही अनुसारको पर्यवेक्षण र अनुगमनको अनुमति दिने व्यवस्थाका लागि सुझाव राख्नु भयो ।

आम निर्वाचन पर्यवेक्षण समितिका तर्फबाट कृष्णमान प्रधानले निर्वाचन अपेक्षाकृत रूपमा स्वच्छ र निश्पक्ष रूपमा सम्पन्न भएको बताउनु भयो ।

उहाँले निर्वाचन आयोग र पर्यवेक्षण गर्ने संस्थाको सहकार्य मजबुद हुन सक्दा निर्वाचनको निश्पक्षतामा टेवा पुग्ने विचार राख्नु भयो ।

स्थानीय तहको निर्वाचनमा झण्डै १ सय संस्थाले पर्यवेक्षणका लागि निवेदन दिएकामा ६८ ओटा संस्था सूचीकर्त भएका थिए ।

तिमध्ये ३७ ओटा संस्थाले मात्रै निर्वाचनको पर्यवेक्षण गरेका थिए भने पर्यवेक्षण गरेकामध्ये १२ ओटा संस्थाले तोकिएको अवधिमा प्रतिवेदन पेश गरेका छैनन् ।

इन्सेकले भने निर्वाचनकै दिनमा प्रारम्भिक र तोकिएकै अवधिमा अन्तिम प्रतिवेदन बुझाएको थियो ।

आयोगका उपसिचव कमल भट्टराईका अनुसार बाजुराको बुढीगङ्गामा असार २३ गते सम्पन्न निर्वाचनमा इन्सेकका पर्यवेक्षकले मात्रै पर्यवेक्षण गरेका थिए । सो निर्वाचनमा इन्सेकका चार जना पर्यवेक्षकले पर्यवेक्षण गरेका थिए ।

कार्यक्रम आयोजक संस्था जियोकमा इन्सेक, नियोक, इयोकलगायतका १० ओटा संस्था तथा सञ्जाल आबद्ध छन् ।


अनलाइन डेस्क