आगलागी र डढेलोबाट जन धनको सुरक्षा गर्न मानव अधिकार आयोगको आग्रह

आगलागी र डढेलोबाट जन धनको सुरक्षा गर्न मानव अधिकार आयोगले विज्ञप्तिमार्फत आग्रह गरेको छ ।

राष्ट्रिय मानव अधिकार आयोगले आगलागी र डढेलोबाट नागरिकको जीउधनको सुरक्षा गर्न वैशाख १७ गते विज्ञप्तिमार्फत देशका विभिन्न ठाउँमा आगलागी र डढेलोबाट मानवीय क्षतिसमेत भएकाले सचेत हुन सरकारलाई आग्रह गरेको हो ।

विज्ञप्तिमा आगलागी तथा डढेलोको जोखिम न्यूनीकरण गर्नका लागि प्रभावकारी कदम चाल्न, आगलागी नियन्त्रणमा प्रयोग हुने सामग्री तथा सुरक्षा उपकरण, तालिम, पूर्व तयारी, सुरक्षा, प्रतिकार्यलगायतका विषयमा उचित व्यवस्था गर्न आग्रह गरेको हो ।

पछिल्लो चौबीस घण्टामा देशका विभिन्न जिल्लाका ४९ स्थानमा आगलागी र ४८ स्थानमा डढेलो लाग्दा एक जनाको मृत्यु हुनुका साथै चार जना घाइते भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पछिल्लो एक वर्षमा आगलागी तथा डढेलोबाट १ सय १४ जना नागरिकको मृत्यु भएको र पछिल्लो एक महिनामा आगलागीमा परेर १४ जना र डढेलोबाट आठ जनाको मृत्यु भएको जानकारी पाएको पनि मानव अधिकार आयोगले जनाएको छ ।

महोत्तरी जिल्लाको मटिहानी नपा– ६, जरलहवा टोलमा  २०८१ वैशाख १२ गते भएको आगलागीबाट ९१ कच्ची र नौ वटा अर्धपक्की गरी १ सय वटा घर जल्नुको साथै  ४ सय ५५ जना प्रभावित भएका थिए ।

राष्ट्रिय मानव अधिकार आयोगका सहसचिव टीकाराम पोखरेलद्वारा जारी गरेको विज्ञप्तिमा सुरक्षाकर्मी र स्थानीयबासी पूर्वतयारी तथा प्रयाप्त सुरक्षा उपकरणबिना आगलागी नियन्त्रणमा परिचालित हुँदा थप मानवीय क्षति भएको आयोगले ठहर गरेको छ । त्यस्तै विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी कार्यक्रमहरू अत्यन्त न्यूनरुपमा भएको र भएका पनि सहरकेन्द्रित देखिएको पनि आयोगको निष्कर्ष रहेको उल्लेख छ ।


दीपकप्रसाद घिमिरे