आगलागीले घर नष्ट भएपछि दलित परिवारको बिचल्ली !

  ०८१ माघ २५ गते

आगलागीले घर नष्ट भएपछि दलित परिवारको बिचल्ली भएको छ । धुर्कोट गाउँपालिका–१, खर्कटोल नयाँगाउँकी अनिता परियारको घर जलेर नष्ट भएपछि दैनिक जीवन कष्टकर बनेको छ । माघ २३ गते साँझ एक्कासी घरमा आगो सल्कियो । अनिता घाँस काट्न बारीमा हुनुहुन्थ्यो । तर, ३० मिनेटमा आगोले घर सक्यो उपाय केही भएन ।

‘छोराहरु स्कुलबाट आएपछि खाजा दिएर घाँस काट्न बारी गएको थिएँ । धुवाँ देखेपछि दौडिएर आएपछि गुहार मागे । गुहार माग्दा–माग्दै घर जलेर सकियो’ - उहाँले भन्नुभयो । केहीबेरको बिपत्तिले चार जनाको परिवारलाई घरबार बिहिन बनाएको छ ।

आगलागीले घरमा रहेको २२/२३ हजार नगद, थोरै सुन, अन्नपात, कपडा र महत्त्वपूर्ण कागजपत्र जलेर नष्ट भएको पीडित अनिता परियारले बताउनु भयो । अनिता र तीन छोरा घरमा हुनुहुन्थ्यो । पति लक्ष्मण परियार तीन वर्षदेखि साउदीमा हुनुहुन्छ । छुट्टिएर बसेको सानो परिवारमा ठूलो सङ्कट आएको छ । अहिले तत्कालको व्यावस्थापनको लागि ससुराकोमा बस्दै आएको अनिताले बताउनु भयो । वडा र पालिकामा राहतको लागि पहल भइरहेकाले अहिले छिमेकीहरूको सहयोग पाएको परियारले बताउनु भयो । उहाँका जेठा छोरा अरुण परियार नयागाउँ माविको कक्षा ६ मा पढ्नुहुन्छ भने अनमोलले देउराली प्राविमा कक्षा ३ मा अध्ययन गर्दै आउनुभएको छ । उनीहरूको किताब कापी र विद्यालयका पोशाकहरू पनि जलेर नष्ट भएका छन् ।

वार्षिक परीक्षाको मुखमा किताब कापी जलेकाले समस्या भएको अरुणले गुनासो गर्नुभयो । ‘ज्यान जोगाउँदा कापी किताब र ड्रेस जले । खाने र सुत्ने पीरकाबिच बार्षिक परीक्षाको मुखमा पढ्न समस्या भयो । कतैनकतै जोहो गरेर पढ्ने हो’ - अरुणले भन्नुभयो । आगो स्थानीय र नयाँगाउँ प्रहरीचौकीको प्रयासमा नियन्त्रणमा आएको थियो । विपन्न दलित परिवार भएकाले निकै कष्टका साथ व्यावस्थापन गरिएको छिमेकी धुर्कोट गाउँपालिका–१ का वडाध्यक्ष चेतमान कुवंरले बताउनु भयो । अहिले स्थानीय सहयोग मात्र भएको छ । कार्यपालिकाबाट थप राहत र पुर्नस्थापनाको लागि पहल गरिरहेको कुवंर बताउनु भयो ।

Photo07022025Gulmi

Photo07022025Gulmi1

Photo07022025Gulmi2

Photo07022025Gulmi3

Photo07022025Gulmi4


टोपलाल अर्याल