आगलागीका कारण विपन्न समुदायका १ सय २५ ओटा भन्दा बढी घर जलेर नष्ट

Photo 20240425 Matihani 1

मटिहानी नगरपालिका–६ जरलहवागाछी भगवती टोलमा ०८१ वैशाख १२ गते भीषण आगलागी भएको छ । आगलागीले विपन्न समुदायको सिंगो गाउँनै खरानी बनाएको छ ।

आगलागीका कारण मानवीय क्षती नभएपनि १ सय २५ ओटा भन्दा बढी घरगोठ, ५ ओटा बाख्रा र दुई ओटा सुँगुर जलेर नष्ट हुनुको साथै ५ सय ७० जना मानिसहरू प्रभावित भएको मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलले जानकारी दिनु भयो ।

१२ बजेदेखि सुरु भएको आगलागी ७ बजे नियन्त्रणमा आएको नगरपालिकाले जनाएको छ । मुस्लिम बस्तीस्थित परालको कुन्युबाट सल्किएको आगोले मुस्लिम र हत्ता टोलका घरहरू पूर्ण रुपमा जलेर खरानी भएको मेयर मण्डलले बताउनु भयो ।

त्यसैगरी, आगलागीबाट ९४ ओटा घरहरू पूर्ण क्षतिग्रस्त भएका छन् भने नौ ओटा घरमा आंशिक क्षति भई १ करोड ६२ लाख ८५ हजार रुपियाँ बराबरको सम्पति क्षति भएको भन्नु हुदै नगद १० लाख रुपियाँ समेत जलेर नस्ट भएको उहाँले जानकारी दिनु भयो ।

त्यस्तै, मटिहानी नगरपालिका, जलेश्वर नगरपालिका, रामगोपालपुर नगरपालिका, प्रदेश प्रहरी कार्यालय जनकपुरधामको वारुण यन्त्रसँगै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, मटिहानी नगरपालिकाका कर्मचारी र स्थानीयहरूको संयुक्त प्रयासमा आगलगी नियन्त्रणमा आएको मेयर मण्डलले जानकारी दिनु भयो ।

यसै सन्दर्भमा ०८१ वैशाख १३ गते जिल्ला विपद व्यवस्थापन समितिको आकस्मिक बैठक बसेको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ । बैठकमा यस विपद्को समयमा सबै सरोकारवाला निकाय तथा विभिन्न सङ्घ संस्थाहरूले आआफ्नो तर्फबाट सहयोग र सहायताका लागि समन्वय गर्ने निर्णय गरिएको र सहयोग राहत एक द्वार प्रणाली अन्तरगत गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

केन्द्रबाट हालसम्म कुनै किसिमको सहयोग नपाएकोमा मेयर मण्डले दुख व्यक्त गर्नु भएको छ ।

Photo 20240425 Matihani 3

Photo 20240425 Matihani 4

Photo 20240425 Matihani


ममता विश्वकर्मा