आगजनीको आरोपमा संविधान सभा सदस्य गुप्ता गिरफ्तार

  ०७८ साउन ९ गते

करैयामाई गाउँपालिका–५ निवासी संविधान सभा सदस्य तथा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य ४० वर्षीय प्रमोद गुप्ता र देवताल गाँउपालिका–१ बडकीफुलबरीयाका जनता समाजवादी पार्टाीका जिल्ला प्रवक्ता ४२ वर्षीय अरुणकुमार सिंहलाई साउन ७ गते गिरफ्तार गरी पर्साको वीरगंज कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी गौतम मिश्रले बताउनु भएको छ ।

मधेश आन्दोलनका क्रममा जिल्ला अस्पताल कलैयामा मेडिकल सुपरिटेण्डेण्टको गाडीमा २०७२ भदौ १६ गते आगो लगाएको आरोपमा संविधान सभा सदस्य गुप्ता र पार्टीका प्रवक्ता सिंहविरुद्ध २०७३ भदौ २१ गते जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

जिल्ला न्यायाधीश प्रकाशचन्द्र अधिकारीको इजलासले ०७४ माघ २५ गते संविधानसभा सदस्य गुप्ता र प्रवक्ता सिंहलाई ६/६ महिना कैद र जनही ९ लाख ८३ हजार ३ सय ३३ रुपियाँ ३३ पैसा जरिबाना गरेको श्रेस्तेदार गम्भीर घिमिरेले बताउनु भयो ।

दुवै जनालाई कैद भुक्तान गर्न साउन ७ गते बेलुका जिल्ला कारागार कार्यालय वीरगंज पठाइएको श्रेस्तेदार घिमिरेले बताउनु भयो । दुवै जना साउन ७ गते अदालतमा हाजिर हुन जाँदा जिल्ला अदालतले प्रहरीको जिम्मा लगाएको हो ।

मधेश आन्दोलनका क्रममा २०७२ भदौ १५ गते प्रहरीले चलाएको गोली लागी कलैया उपमहानगरपालिका–१ भरत चौकमा कलैया उपमहानगरपालिका–७ रङ्गपुरका २४ वर्षीय हिफाजत मियाँको मृत्यु भएको थियो ।

हिफाजत मियाँको पोष्टमार्टम रिपोर्ट गलत बनाएको भनी सप्तरी जिल्ला राजविराज नपा–३ निवासी कलैया अस्पतालका तत्कालीन मेडिकल सुपरिटेण्डेण्ट ३९ वर्षीय डाक्टर शैलेशकुमार झाको निजी कारमा ०७२ भदौ १६ गते आगजनी गरेको आरोपमा प्रहरीले गुप्ता र सिंहलाई मुद्दा चलाएको थियो । गुप्ता बारा निर्वाचन क्षेत्र नम्बर ३ बाट संविधान सभामा निर्वाचित हुनु भएको थियो ।


भोलानाथ पौडेल