अस्पताल भवन निर्माणमा ढिलाइ, स्थानीय सहज स्वास्थ्य सेवा पाउनबाट वञ्चित

  ०८० फागुन २१ गते

लेकम गाउँपालिका–५ मा १० शैयाको अस्पताल निर्माण कार्य अलपत्र छ । अस्पताल भवन निर्माणमा ढिलाइ हुँदा यहाँका बिरामीले पाउनु पर्ने सेवा सुविधामा समस्या भएको छ । स्थानीय सरकार बनेको लामो समयसम्म पनि नागरिकले सहज रुपमा स्वास्थ्य सेवा पाउने अवस्था बनेको छैन् ।

सरकारले नागरिकको स्वास्थ्यमाथि खेलवाड गरेको लेकम गाउँपालिका–५ का ललितसिह खत्री बताउनु हुन्छ । यतिका वर्षसम्म पनि अस्पताल भवन बन्ने छाँटकाँट छैन् । बिरामी हुँदा अहिले पनि १ घण्टा बढि डोलीमा बोकेर बिरामीलाई गोकुलेश्वर, खलंगा वा भारतीय बजार लैजानु पर्ने बाध्यता छ । समयमै अस्पताल भवन बनेको भए नागरिकले घर नजिकै स्वास्थ्य सेवा पाउने थिए, उहाँले भन्नु भयो ।

यहाँका स्थानीय अहिले पनि घण्टौँ हिडेर भारतीय बजारमा उपचार गराएर फर्किन्छन् । नजिकको स्वास्थ्य सेवा भनेको भारतको पिथौरागढ छ । नेपालतिर अझै सडक पहुँच सबैतिर पुगेको छैन् ।

लेकम अस्पताल निर्माणको निर्माणका लागि आर्थिक वर्ष ०७७ / ०७८ मा शिवशक्ति जगदम्बा यमुना जेभीले ठेक्का पाएको अस्पताल भवन निर्माण कार्य अहिले अलपत्र पारेको छ । भवन निर्माणस्थलमा माटो खलाईबाहेक केही काम गर्न नसकेको भन्दै निर्माण व्यवसायीलाई कारबाही प्रक्रिया अघि बढेको छ ।

photo20240304darchual (1)

अस्पताल भवन निर्माण कार्यमा प्रगति नगरेको भन्दै निर्माण व्यवसायीलाई कालो सूचीमा राखेर ठेक्का रद्ध प्रक्रिया अघि बढाइएको गाउँपालिका प्रवक्ता सुरेशसिह थापाले बताउनु भयो । लामो समयदेखि भवनको ठेक्का लिएर काम अघि नबढाएपछि कारबाही प्रक्रिया अघि बढेको हो उहाँले भन्नु भयो, अहिले भवन निर्माणको लागि बजेट समेत अभाव छ । विगतमा बजेट हुँदा पनि निर्माण व्यवसायीले भवन निर्माणमा लापारबाही गर्‍यो ।

हामीले नागरिकलाई सहज स्वास्थ्य सेवा दिन पाएका छैनौँ थापा भन्नु हुन्छ । विगतमा पनि यहाँका नागरिकले बिरामी हुँदा भारतकै अस्पताल जानु पर्ने बाध्यता थियो, अहिले पनि सोही अवस्था छ ।

जिल्लामा नेपाल सरकारले सबै स्थानीय तहमा अस्पताल बनाउने कार्य योजना अनुरुप थालिएको मालिकार्जुन गाउँपालिकाको भवन बजेट अभावले अलपत्र अवस्थामा छ । भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको भए पनि बजेट अभावले सञ्चालनमा ल्याउन समस्या भएको गाउँपालिका अध्यक्ष हिरासिह धामीले बताउनु भयो ।

आर्थिक वर्ष २०७७ / ०७८ मा निर्माण सुरु गरेको अस्पताल भवनको काम अन्तिम चरणमा पुगेको छ । राजेन्द्र निर्माण सेवा, दार्चुलाले निर्माण गरिरहेको दश शैया अस्पताल सञ्चालनमा ल्याउन बजेट छैन्, मालिकार्जुन गाउँपालिका अध्यक्ष धामीले भन्नु भयो, ‘भौतिक पूर्वाधार निर्माणको काम अन्तिममा पुगेको छ ।’

संघीय सरकारको ७ करोड ३८ लाख लागतमा बन्न लागेको उक्त अस्पताल भवनको काम अन्तिम चरणमा पुगेको छ । चालू आर्थिक वर्षभित्र काम सकिदैछ । अस्पतालमा रंगरोगन, विद्युतिकरण, घेरपर्खाल लगायतको काम हुँदैछ । एक दुई महिना भित्रै भवनको काम सकिन्छ तर भवन निर्माणपछि अस्पताल सुचारु गर्न बजेट गाउँपालिकासँग छैन् ।

photo20240304darchual (1)

‘अस्पताल सञ्चालनको लागि बजेट जुट्न सकेको छैन्,’ अध्यक्ष धामीले भन्नु भयो, ‘बजेट खोज्न काठमाण्डौँसम्म पुगियो । भवन मात्रै बनाएर भएन, जनशक्ति उपकरण पनि चाहिएला ।’ मन्त्रालयमै पुगेर अस्पताल सञ्चालनको लागि आवश्यक बजेट र स्रोत सुनिश्चित गर्न अनुरोध गरिएको छ ।

‘अस्पताल बनेपछि गाउँमै सेवा लिने आशा थियो तर भवन निर्माण नै कहिले हुने टुंगो नहुँदा निराश बनेका छौ,’ मालिकार्जुन गाउँपालिका–४ का स्थानीय बलदेवसिह धामीले भन्नु भयो । सुविधा सम्पन्न भवन निर्माण भएको छ, अस्पताल सुचारु कहिले हुन्छ । अहिले गाउँमा स्वास्थ्य सुविधा नहुँदा गोकुलेश्वर अस्पताल र जिल्ला अस्पताल जानु पर्ने स्थानीयको बाध्यता छ । गाउँपालिकामै सुविधा सम्पन्न अस्पताल भएको भए नागरिकले सहज स्वास्थ्य सेवा पाउथे ।

सबै स्थानीय तहमा आधारभूत तहको अस्पतालन संचालन गर्ने संघीय सरकारको योजना अनुसार २०७७ पुस १५ गते अस्पताल शिलान्यास गरिएको थियो ।

अपिहिमाल गाउँपालिकामा निर्माण भइरहेको पाँच शैया अस्पताल अधुरै छ । कहिले बजेट अभाव र कहिले ठेकेदारको लापर्बाहीले गर्दा पनि निर्माण कार्यले गति लिएको छैन् । हिमाली क्षेत्र भएका कारण कतिबेला मौसमका कारण पनि निर्माण कार्य हुँदैन् ।

आर्थिक वर्ष ०७७ / ०७८ मै निर्माणको लागि ठेक्का लागेको भवन निर्माण पूरा हुन अझै समय लाग्ने अपिहिमाल गाउँपालिका–४ का वडाध्यक्ष रविन्द्र बोहराले बताउनु भयो । समयमै प्रयाप्त बजेट नहुँदा पनि ठेकेदारलाई काम गराउन सकिएको छैन् । सुविधा सम्पन्न अस्पताल बनाउने योजना भए पनि अझै भौतिक पूर्वाधार निर्माणको काम सकिएको छैन् । अहिले यहाँका स्थानीयले सामान्य बिरामी हूँदा बाहिर जानु पर्ने बाध्यता छ ।

photo20240304darchual (2)

व्याँस गाउँपालिकामा निर्माण भइरहेको दश शैया अस्पतालको भर्खरमात्रै जग सुरु भएको छ । अस्पताल निर्माणको काम सुरु भएको छ, गाउँपालिका उपाध्यक्ष बिनोदसिह कुवरले भने, ‘समयमै निर्माण सम्पन्न गराउन सके राम्रै हुन्छ ।’

समयमै अस्पताल नबन्दा सामान्य विरामी हुँदा पनि यहाँका विरामीलाई धनगढी रिफर गर्नु पर्ने अवस्था कायमै रहेको छ ।


नरेन्द्रसिह कार्की