अस्पताल निर्माण अलपत्र

  ०८१ वैशाख ९ गते

सरकारले निर्माण गर्ने भनेका आधारभूत अस्पताल निर्माणको कार्य सोलखुम्बु, ओखलढुङ्गा, खोटाङ्ग र उदयपुरमा अलपत्र परेको छ ।

सङ्घीय सरकार र स्थानीय सरकारले निर्माण गर्ने गरी कोशी प्रदेशमा ०७७ मङ्सिर १५ गते ८६ ओटा आधारभूत स्वास्थ्य अस्पताल निर्माणका लागि शिलान्यास गरिएको भएपनि अधिकांश अस्पताल निर्माण अलपत्र अवस्थामा परेका छन् ।

नेपालको संविधान धारा ३५ मा स्वास्थ्य सम्बन्धी हकको व्यवस्था छ । सोही धाराको उपधारा १ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भन्ने व्यवस्था गरिएको छ ।

आधारभूत स्वास्थ्य अधिकारबाट नागरिक वञ्चित भएपछि नेपाल सरकारले ०७७ मङ्सिर १५ गते देशभर ३ सय ९६ ओटा आधारभूत स्वास्थ्य अस्पतालको एक साथ शिलान्यास गरेको थियो ।

कोशी प्रदेशमा प्रदेशस्तरीय सरूवा रोग अस्पताल र १४ जिल्लामा ८६ ओटा आधारभूत अस्पताल निर्माण गर्ने गरी शिलान्यास गरिएको थियो ।

कोशी प्रदेशमा ८६ ओटा एकदेखि १५ बेडसम्मको आधारभूत अस्पताल निर्माण गर्ने गरी ०७७ मङ्सिर १५ गते शिलान्यास गरिएको थियो । आधारभूत स्वास्थ्य अधिकारसम्बोधन हुने गरी सरकारले ८६ ओटा अस्पतालको शिलान्यास गरेपनि आधारभूत स्वास्थ्य अस्पताल निर्माणले भने गति लिन सकेको छैन ।

झापामा १२ ओटा, पाँचथर, इलाम, सङ्खुवासभा र ओखलढुङ्गामा सात ओटा, भोजपुर र खोटाङमा ६-६ ओटा, तेहृथुम, सोलखुम्बु र सुनसरीमा पाँच-पाँच ओटा, धनकुटामा चार ओटा र मोरङमा १० ओटा आधारभूत स्वास्थ्य अस्पताल निर्माणका लागि शिलान्यास गरिएको छ ।

सङ्घीय सरकार र स्थानीय सरकारले निर्माण गर्ने गरी कोशी प्रदेशमा ८६ ओटा आधारभूत स्वास्थ्य अस्पताल शिलान्यास गरिएको भएपनि अधिकांश अस्पताल निर्माण अलपत्र अवस्थामा छन् ।

ओखलढुङ्गा प्रतिनिधि सरस्वती बानियाका अनुसार आधारभूत अस्पताल निर्माणका लागि शिलान्यास गरिएको झण्डै तीन वर्ष पुरा हुन लाग्दा समेत जिल्लाका अधिकांश स्थानीय तहमा आधारभूत अस्पताल निर्माणको काम सुरू हुन सकेको छैन । निर्माण सम्पन्न भएका अस्पताल पनि सञ्चालनमा आउन सकेका छैनन् ।

मानेभञ्ज्याङ गाउँपालिकामा अस्पताल निर्माण कार्य अघि बढ्न सकेको छैन । अस्पताल निर्माण गर्ने भनिएको जग्गा डीपीआर अनुसार नमिलेपछि निर्माण कार्य अघि बढ्न नसकेको मानेभञ्ज्याङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल राईले बताउनु भयो । अहिले अर्को डीपीआर बनाएर मन्त्रालयमा पठाइएको उहाँको भनाइ छ । मोलुङ गाउँपालिकामा पनि अस्पताल निर्माण कार्य अघि बढ्न सकेको छैन । अहिले ठेक्का प्रक्रियामा रहेकोले तिहार लगत्तै अस्पताल निर्माण कार्य अघि बढ्ने गाउँपालिका अध्यक्ष उत्तम राईले बताउनु भयो । सुरूको भवनको डिजाइनमा समस्या भएपछि हाल अर्को डिजाइन स्वीकृत भएको अध्यक्ष राईको भनाइ छ ।

सुनकोशी गाउँपालिकामा अस्पताल निर्माण कार्य भईरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार कार्कीले बताउनु भयो । अस्पतालको डीपीआर बमोजिम जग्गा अपुग भएकाले निर्माण कार्य ढिला सुरु भएको भएपनि अब काम निरन्तर अघि बढ्ने उहाँको भनाइ छ ।

चम्पादेवी गाउँपालिकामा अस्पातल निर्माणको काम भइरहेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद सुवेदीले बताउनु भयो । ०८० मङ्सिरसम्ममा निर्माण कार्य सम्पन्न गर्ने गरी काम भइरहेको सुवेदीको भनाइ छ । लिखु गाउँपालिकामा अस्पताल निर्माण कार्य अन्तिम चरणमा पुगेको लिखु गाउँपालिका अध्यक्ष अशोक कुमार कार्कीले बताउनु भयो ।

चिशंखुगढी गाउँपालिकामा अस्पताल निर्माण कार्य सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकमणि खनालले बताउनु भयो । सञ्चालनमा ल्याउन पहल भइरहेको खनालले बताउनु भयो । खिजिदेम्बा गाउँपालिकामा अस्पताल निर्माण कार्य सम्पन्न भएको भएपनि सञ्चालनमा आउन सकेको छैन । अस्पताल सञ्चालनको लागि पहल भइरहेको गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले बताउनु भएको छ ।

सोलखुम्बु प्रतिनिधि अञ्जु कार्कीका अनुसार जिल्लामा एकै साथ शिलान्यास गरिएका पाँच ओटामध्ये चार ओटा आधारभूत स्वास्थ्य अस्पताल निर्माणको प्रगति शून्य छ । सोताङ र महाकुलुङ गाउँपालिकामा १५ शैया तथा माप्यदूधकोशी, खुम्बु पासाङल्हामु र लिखुपिके गाउँपलिकामा पाँचपाँच शैयाको अस्पताल भवनको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अर्चुअल माध्यमबाट एकै साथ शिलान्यास गर्नु भएको थियो । जिल्लामा निमार्ण हुने पाँच ओटा अस्पतालमध्ये  महाकुलुङ गाउँपालिकाले भवन निमार्ण कार्य अन्तिम चरणमा  पुर्‍याएको छ । चार ओटा अस्पताल शिलान्यासमा नै सिमित भएको पाइएको छ ।

महाकुलुङ गाउँपालिका-१ बुङमा अस्पताल भवन निमार्ण कार्य करिब ९५ प्रतिशत सकिएको गाउँपालिका स्वास्थ्य संयोजक हरिप्रसाद आर्चायले बताउनु भयो । ०७९ असार १५ गतेबाट सुरू गरिएको अस्पताल निमार्णको काम ९५ प्रतिशत सकिएको गाउँपालिकाले जनाएको छ । सोताङ गाउँपालिका-५ को गैरीगाउँमा अस्पताल निमार्णका लागि जग खन्ने काम मात्रै भएको गाउँपालिका स्वास्थ्य संयोजक श्रीध्वज राईले बताउनु भयो ।

लिखुपिके गाउँपालिकामा डीपीआर तयार गर्ने काम मात्रै भएको गाउँपालिका अध्यक्ष मीना कार्कीले बताउनु भयो । खुम्बु पासाङल्हामुको चौरीखर्कमा र  माप्यदूधकोशीको खास्तवमा बन्ने भनिएको अस्पताल भवनको शिलान्यासमै सिमित भएको छ । जिल्लाका अधिकांश अस्पताल भवनको निर्माण कार्य बजेट अभावमा अघि बढ्न नसकेको स्थानीय तहले जनाएका छन् ।  पाँच शैयाको अस्पतालमा एक जना मेडिकल अफिसरसहित १२ जना स्वास्थ्यकर्मी, १० शैयाको अस्पतालमा दुई जना मेडिकल अफिसरसहित १७ जना स्वास्थ्यकर्मी र १५ शैयाको अस्पतालमा तीन जना मेडिकल अफिसरसहित २७ जना स्वास्थ्यकर्मीको व्यवस्था गर्ने सरकारको योजना रहेको थियो । १५ शैयाको अस्पताल निमार्ण लागि  १८ करोड ६८ लाख २० हजार रुपियाँ र पाँच शैयाको अस्पताल निमार्णका लागि ७ करोड १९ लाख रुपियाँ बजेट सङ्घीय सरकारले विनियोजन गरेको थियो ।

उदयपुर प्रतिनिधि राकेश नेपालीका अनुसार सङ्घीय सरकारको नीति अनुसार तीन वर्ष अघि सात स्थानीय तहमा आधाभूत अस्पतालको शिलान्यास गरिएको थियो । जिल्लामा शिलान्यास भएका आधाभूत अस्पतालको निर्माण कार्य सकिएको छैन । अस्पताल निर्माण कार्य सम्पन्न नहुदाँ अहिले पनि स्थानीय उपचारका लागि सदरमुकाम धाउनु पर्ने बाध्यता उस्तै छ । नेपालको संविधान धारा ३५ मा स्वास्थ्य सम्बन्धी हकको व्यवस्था छ । सोही धाराको उपधार १ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भन्ने व्यवस्था गरिएको छ । स्थानीय सरकारको ढिलासुस्तीका कारण आधारभूत अस्पताल निर्माण ढिलाई भएको सरोकारावाला निकायको गुनासो छ ।

खोटाङ प्रतिनिधि तारानाथ फुयलका अनुरसार अनुसार ०७७ मङ्सिर १५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ३ सय ७७ ओटा स्थानीय तहमा आधारभूत अस्पलातको शिलान्यास गर्नु भएको थियो । जस अन्तरगत जिल्लामा ६ ओटा स्थानीय तहमा शिलान्यास त भए तर अहिले बजेट अभावका कारण कतै निर्माण सम्पन्न हुन सकेको छैनन् । कहिले समयमा रकम न आउने त कहिले ठेकोदार कम्पनीको लापरबाहीका कारण समयमै ठेक्का लागेपनि काम भने सुस्त गतिमा भइरहेको छ । सम्झौता अनुसार गत ०८० असारमै निर्माण सम्पन्न भई अस्पताल सञ्चालन आउनु पर्ने हो तर ०८१ वैशाख लाग्दा समेत अस्पताल निर्माणको कार्य अलपत्र अवस्थामा छ ।


इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगर