अस्पताल जान कि डोकोमै बोकिएर कि हेलिकप्टर चार्टर !
नेपालको संविधान भाग–३ अन्तर्गत मौलिक हक र कर्तव्यको धारा ३५ (१) मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभुत स्वास्थ्य सेवा निशुल्क प्राप्त हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भनी उल्लेख गरिएको छ ।
तर, एउटा नगरपालिकासहित आठ ओटा गाउँपालिकाका बासिन्दाले आधारभुत सेवा पाउनु त के बिरामी हुँदा लाखौ रूपैयाँ खर्चेर हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता छ ।
घरदेखि घण्टौँ टाढाको स्वास्थ्य चौकी तथा स्वास्थ्य चौकीले रेफर गरे दुई दिनसम्म पहाडको अप्ठेरो बाटोमा डोकोमा बिरामी बोक्नु जोखिमपुर्ण हुने भएकाले हेलिकप्टर चार्टर गर्नु रहर नभई बाध्यता भएकोे छ ।
मुश्किलले ५-६ घण्टा पैदल हिँडेर पुगिने कतिपय स्वास्थ्य चौकीमा प्राय स्वास्थ्यकर्मी र औषधिको समस्या हुँदाको पीडा बिरामीलाई छँदैछ । कतिपय बिरामीले स्वास्थ्य चौकी तथा अस्पताल नपुगी ज्यानै गुमाउनुपरेको छ ।
जिल्लाको ओलाङचुङगोला, घुन्सा, फले, याङ्मा, पापुङ र याम्फुदिनजस्ता दुर्गम बस्तीका सेवाग्राही हेलिकप्टर चार्टर गरेर उपचार गर्न जिल्ला बाहिर जानुपर्ने बाध्यता छ ।
‘डोकोमै बोकेर अस्पताल नत्र हेलिकप्टर चार्टर गर्नुको विकल्प छैन ।’–घुन्साका स्थानीय हिमाली चुङदाले भने–‘सामान्य अवस्थामै अपर्झट बिरामी हुँदा त समस्या हुन्छ । क्षणभरमै आर्थिक र हेलिकप्टर व्यवस्थापन नभए अकालमै ज्यान गुमाउनु पर्छ ।’
फक्ताङलुङ गाउँपालिका–६ ग्याब्लाका १९ वर्षीय तेञ्जिङ शेर्पाको दाँत दुखेपछि ०७५ भदौ २१ गते परिवारले काठमाडौबाट हेलिकप्टर झिकाए ।
मौसम प्रतिकुलताका कारण तीन दिन पर्खँदा समेत हेलिकप्टर आउन सकेन । बिरामले झन् च्याप्दै गयो । र, भदौ २४ गते गाउँले भेला भएर स्ट्रेचरमा बोकेर जिल्ला अस्पताल हिँडाए ।
सोही राति लेलेप स्वास्थ्य चौकीमा लगेर प्राथमिक उपचार गराएर अस्पताल लाने क्रममा भदौ २५ गते बाटैमा शेर्पाको मृत्यु भयो । ग्याब्लाबाट जिल्ला अस्पताल पुग्न दुई दिन लाग्छ ।
‘गाउँमा मोटरबाटो पुगेको छैन ।’–तेञ्जिङका दाजु डण्डुले भने–‘स्वास्थ्य संस्था टाढा छ । हेलिकप्टर समेत आउन नसकेपछि भाइलाई बचाउन सकिएन ।’
०७५ असारमा मिक्वाखोला गाउँपालिका–४ साँवाका पदमसुन्दर थलङलाई झाडापखालाले च्याप्यो । स्ट्रेचरमै बोकेर अस्पताल लेजाँदै गर्दा लिवाङको छिपछिपेमा थलङको प्राण गयो ।
परिवार र आफन्तले लिवाङको पहिरो नछिचोल्दै २५ वर्षीय थलङलाई गुमाएका थिए । यी त प्रतिनिधिमूलक घटना हुन् ।
यहाँका धेरै बिरामीले अस्पतालको मुखसमेत देख्न पाउँदैनन् भने कतिपयले बाटोमा ल्याउँदा–ल्याउँदै ज्यान गुमाएका घटना छन् ।
नागरिकलाई घरदैलोमै सेवा दिन भन्दै गाउँमै स्थानीय सरकार गठन भए पनि स्वास्थ्यको क्षेत्रमा त्यसको महसुस भने हुन नसकेको सिरीजङ्गा गाउँपालिकाका अध्यक्ष टीकाराम गुरूङ स्वीकार गर्छन् । अध्यक्ष गुरूङले भने–‘शतप्रतिशत स्वास्थ्य सुविधा दिन सकेको छैन । दक्ष कर्मचारी, आवश्यक उपकरण र सेवाग्राहीलाई सहज महसुस हुने गरिको पूर्वाधार निर्माणमा केन्द्रीत छौ ।
सुत्केरी गराउन दक्ष स्वास्थ्यकर्मी र चौकी नहुँदा गाउँपालिका–८ याम्फुदिनमै ११ जनाको ज्यान गएको तीतो अनुभव सुनाउँदै अब यस्तो अवस्था आउन नदिन सचेत रहेको अध्यक्ष गुरूङले बताए ।
देवराज गुरूङ
सम्बन्धित समाचारहरू
सुदूरपश्चिम प्रदेश उपनिर्वाचन ०८१ः पाँच ओटा स्थानीय तह मध्ये कांग्रेसका चार र एमालेका एक जना उम्मेदवार विजयी
सुदूरपश्चिम प्रदेशका पाँच ओटा स्थानीय तहमा ०८१ मङ्सिर १६ गते सम्पन्न उपनिर्वाचनको मतपरिणाम सार्वजनिक गरिएको छ । पाँच ओटा स्थानीय तहमध्ये नेपाली काग्रेसका चार र एमालेका एक जना उम्मेदवार विजयी…
चर्किएकै घरमा बस्न बाध्य बुंगलका भूकम्पपीडित !
जिल्लामा ०८० असोज १६ र २० गते आएको विनाशकारी भूकम्प गएको एक वर्ष बित्यो । भूकम्प प्रभावितहरू जसको नियमित आम्दानी थियो, उनीहरूले आफ्नो जोहो गरे । पहुँचवालाले पनि चिसो छल्नेगरी…
स्थानीय तह उपनिर्वाचन ०८१- उदयपुरको बेलका-९ मा मत गणना रोकियो
स्थानीय तह उपनिर्वाचन ०८१ अन्तरगत बेलका नगरपालिका-९ मा वडाध्यक्ष पदका लागि निर्वाचनको मत गणना रोकिएको छ । मङ्सिर १६ गते मतदान सम्पन्न भएर मतगणना सुरू गरेपछि मङ्सिर १७ गते विहान…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा लमही नगरपालिका-५ का २४ वर्षीय राजु खानलाई प्रहरीले ०८१ मङ्सिर १६ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले मङ्सिर ११ गते काम छ…
मधेस प्रदेशमा स्थानीय तह उपनिर्वाचन ०८१ सम्पन्न
स्थानीय तह उपनिर्वाचन ०८१ अन्तर्गत देशभरको ४१ ओटा स्थानीय तह मध्ये मधेस प्रदेशको सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ र ४, धनुषाको धनुषाधाम नगरपालिका–१, महोत्तरीको रामगोपालपुर नगरपालिका–२ र रौतहटको इशनाथ नगरपालिका–७, राजपुर नगरपालिका–६…