अस्पतालमा सुत्केरीको मृत्युपछि आफन्तद्वारा तीन दिनदेखि निरन्तर आन्दोलन

  ०८१ असोज ९ गते

कर्णाली प्रदेश अस्पताल, सुर्खेतमा सुत्केरीको मृत्यु भएपछि आफन्तहरूले तीन दिनदेखि निरन्तर आन्दाेलन गरिरहेका छन् । ०८१ असोज ७ गते बिहान वीरेन्द्रनगर नगरपालिका–६ की १९ वर्षीया शर्मिला सुनारको उपचारका क्रममा मृत्यु भएपछि आफन्तहरूले साेही दिनदेखि आन्दोलन जारी राखेका हुन् ।

Photo25092024Surkhet1

आफन्तहरूले उपचारमा संलग्न डाक्टरहरूलाई कारवाही र मृतकका आफन्तलाई उचित राहत दिनुपर्ने माग राख्दै असाेज ९ गते मुख्यमन्त्री कार्यालय र सामाजिक विकास मन्त्रालयमा नाराबाजी गर्दै ध्यानाकर्षण पत्र बुझाएका छन् ।

ध्यानाकर्षण पत्र बुझ्दै मुख्यमन्त्री कार्यालयका उपसचिव कृष्णप्रसाद खरेलले मुख्यमन्त्रीलाई यस विषयमा जानकारी गराएर समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे । त्यस्तै सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले घटनाको विषयमा छानबिन गरेर प्रक्रिया अगाडि बढाउने बताउनु भयो ।

सुत्केरी व्यथा लागेपछि सुनार ०८१ असोज ६ गते बिहान ११ बजे प्रदेश अस्पताल, सुर्खेतमा जानुभएको थियो । उपचारका क्रममा उहाँको मृत्यु भएपछि उपचारमा संलग्न चिकित्सकले लापरवाही गरेको भन्दै आफन्तहरू आन्दोलनमा उत्रिएका हुन् ।

बेथा लागेपछि भर्ना हुनुभएकी शर्मिलाको बच्चा नचलेको र मृत बच्चा जन्मिएपछि रक्तस्राव भइ आइसियुमा राखेर उपचार गर्दै गर्दा राति मृत्यु भएको प्रदेश अस्पताल, सुर्खेतका सूचना अधिकारी विनोद बस्नेतले बताउनु भयो । बिरामीकाे अवस्था गम्भीर भएकाे र बच्चा पनि नचलेका कारण दुवै जनाकाे ज्यान गरेकोले डाक्टरकाे कुनै पनि लापरवाही नभएको सूचना अधिकारी बस्नेतले बताउनु भयो । यता आफन्तहरूले भने डाक्टरले असोज ६ गते बिरामीको अवस्था सामान्य भनेको र एक्कासी असोज ७ गते बिहान ४ बजे प्रहरी बोलाएर मृत्युको खबर सुनाएको हुँदा डाक्टरकै लापरवाहीका कारण सुत्केरी र बच्चाको ज्यान गएको आरोप लगाएका छन् ।

अस्पतालले समेत घटनाकाे विषयमा छानबिनका लागि चासाे नदेखाएपछि थप आन्दाेलन गर्न बाध्य भएको मृतककी आमा रुपकला विकले बताउनु भयाे । पहिलो चरणमा मृतकका आफन्त र प्रशासनबिच वार्ता बसे पनि सहमति हुन सकेकाे छैन । दलित अधिकारका लागि ऐकिकृत आन्दोलन नेपाल लगायत दलित अधिकारकर्मी, राष्ट्रिय मानव अधिकार आयोग, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायतका मानव अधिकावादी सङ्घसंस्थाले समेत घटनाको विषयमा सत्यतथ्य छानबिन गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गरेका छन् ।

Photo25092024Surkhet


जगतदल जनाला विक