अस्पतालमा रेबिज विरूद्धको भ्याक्सिन नहुँदा सेवाग्राही मर्कामा

  ०७४ जेठ २४ गते

जनावरले टोके पश्चात् लगाइने रेबिज विरूद्धको भ्याक्सिन आवश्यकता अनुसार नहुँदा लुम्बिनी अञ्चल अस्पताल, बुटवल पुग्ने सेवाग्राहीहरू मर्कामा परेका छन् ।

अस्पताल स्रोतका अनुसार १० देखि १५ जनासम्म बिरामी विभिन्न जनावरले टोकेर रेबिज विरूको भ्याक्सिन लगाउन आउँछन् । भ्याक्सिन लगाउन आउने व्यक्तिहरूलाई पाँचपटकसम्म लगाउनु पर्ने भएपनि 'भ्याक्सिन' कोटा प्रणालीका कारण सेवा लिन आउने सबै सेवाग्राहीहरूलाई सेवा दिन नसकेको अस्पतालका सूचना अधिकृत लक्ष्मीराज रेग्मीले बताए ।

अस्पताललाई मासिक १५ सयदेखि २ हजार भायल रेबिज विरूद्धको भ्याक्सिन आवश्यकता पर्नेमा दैनिक रूपमा घटाएर सिमित मात्रामा आपूर्ति भइरहेकोले सेवामा अवरोध आएको सूचना अधिकृत रेग्मीको भनाइ छ । सेवाग्राहीको सङ्ख्या प्रतिदिन बढ्दो भएपनि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, स्वास्थ्य सेवा विभाग र क्षेत्रीय मेडिकल स्टोर बुटवलले यो भ्याक्सिनको आपूर्तिमा गरेको कोटा प्रणालीले सेवा प्रवाहमा प्रभाव पारेको छ ।

अञ्चल अस्पतालमा अघिल्लो आर्थिक वर्षमा ३ हजार ९ सय ४८ जना सेवाग्राहीले भ्याक्सिन सेवा लिएका थिए । भ्याक्सिनको आपूर्ति नियमित र आवश्यकता अनुरूप उपलब्ध नहुँदा निम्न आयस्रोतका बिरामीले निजी औषधालयबाट महँगोमा भ्याक्सिन सेवा लिन बाध्य भएको सेवाग्राहीको गुनासो छ ।


रीमा बि.सी.