अस्पतालमा नवजात शिशु सघन कक्ष नहुँदा समस्या

पर्वतमा रहेको एक मात्र जिल्ला अस्पतालमा भर्खरै जन्मिएका नवजात शिशुका लागि सघन कक्ष नहुँदा समस्या परेको छ ।

१५ शैया क्षमता रहेको पर्वत जिल्ला अस्पतालमा स्थापनाकालदेखि नै नवजात शिशुका लागि उपचार कक्ष नहुँदा समस्या परेको हो ।

जिल्ला अस्पतालमा सुरक्षित प्रसूति सेवा सञ्चालनमा रहेपनि प्रसूति सेवाबाट जन्मिएका बच्चालाई उपचार सेवा दिलाउन नसक्दा ३० प्रतिशत भन्दा बढी नवजात शिशुलाई पोखरा लगायतका छिमेकी जिल्लामा पठाउनुपर्ने अवस्था रहेको जिल्ला अस्पताल पर्वतका अध्यक्ष गोविन्द पहाडीले बताउनुभयो ।

जिल्ला अस्पताल मात्रै होइन पर्वतका विभिन्न स्थानमा रहेका बर्थिङ सेन्टरमा जन्मिएका नवजात शिशुलाई ज्वरो आएमा, आमाको दुध चुस्न नसक्ने भएमा, कम तौल भएमा, श्वासप्रश्वास लगायतका समस्या आएमा, निमोनिया देखिएमा पोखरा पठाउनु पर्ने अवस्था रहेको उहाँको भनाइ छ ।

लायन्स क्लव अफ पर्वतको सहयोगमा नवजात शिशुका लागि शिशु सघन कक्ष (एसएनसियु) सञ्चालनका लागि २० लाख रुपियाँभन्दा बढीको सामान उपलब्ध भएपनि भवन अभावमा सञ्चालनमा ल्याउन नसकिएको अस्पतालका अध्यक्ष पहाडीले जानकारी दिनुभयो ।

पर्वत जिल्ला अस्पतालमा मासिक ३० देखि ५० जना आमाहरूले सुरक्षित प्रसूति सेवा लिँदै आएका छन् ।

अहिले नवजात शिशुलाई स्वास्थ्य समस्या देखिने बित्तिकै पोखरास्थित क्षेत्रीय अस्पतालमा पठाउने गरिएपनि कुश्मा–पोखरा सडक स्तरोन्नतिका कारण सडकको यात्रा सहज नभएका कारण तीन घण्टा भन्दा बढी लाग्ने भएकाले झनै समस्या भएको अस्पताल प्रमूख सन्तोषी थपलियाले बताउनु भयो ।

नवजात शिशुले समयमा उपचार नपाएका कारण कतिपय बच्चाको ज्यान नै खतरामा पर्ने गरेको उहाँले बताउनुभयो ।


सन्तोष थापा