अस्पतालमा दुई सातादेखिको आन्दोलनका कारण बिरामी मर्कामा

जिल्ला अस्पताल डोटीका स्वास्थ्यकर्मीहरूले फागुन ८ गतेदेखि आकस्मिक बाहेकका सम्पूर्ण सेवा बहिष्कार गरेपछि उपचारका लागि आएका बिरामीहरू मार्कामा परेका छन् ।

फागुन ६ गते उपचारका लागि आएका बिरामीसँगको विवादका कारण जिल्ला अस्पताल डोटीका मेडिकल अधिकृत डा. जितेन्द्रकुमार सिंहमाथि हातपात भएको विषयलाई लिएर स्वास्थ्यकर्मीहरू दुई हप्तादेखि आन्दोलित आन्दोलन गर्दै आएका छन् ।

डा. जितेन्द्रकुमार सिंहमाथि हातपात गरेको आरोपमा दिपायल सिलगढी नपा-६ का अरुण महत, वडा नम्बर ७ का हिक्मत विष्ट, विजय विष्ट र हर्क विष्टलाई थुनामा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी शिववहादुर सिंहले बताए ।

जिल्ला अस्पताल डोटीमा उपचार सेवा नपाएपछि गाउँबाट आएका बिरामीहरू निजी मेडिकलमा गएर सेवा लिन बाध्य भएका छन् । सामान्य बिरामीले समेत मेडिकल धाउनु पर्ने भएपछि यस विषयमा राजनीतिक दल र स्थानीय सरकारले समेत चासो नदेखाएको भन्दै आलोचना हुन थालेको छ ।


दीर्घ खत्री