अस्पतालमा डाक्टर नहुँदा बिरामीहरू उपचारबाट वञ्चित

  ०७९ असोज १५ गते

बारबर्दिया नगरपालिका– ६ मनकापुरस्थित आरसी थारू मेमोरियल नगर अस्पतालमा चिकित्सक नहुँदा दैनिक उपचारमा आउने सेवाग्राही गुणस्तरिय उपचारबाट वञ्चित भएका छन् ।

०७९ असार महिनासम्म तीन जना चिकित्सक रहेकोमा साउन देखि नगर अस्पताल डाक्टर विहीन भएको हो । गत असार मसान्त डाक्टर नेपोलिएन दास, साउन मसान्तदेखि रोसन सापकोटाले अध्ययन गर्न जाने भन्दै अध्ययन बिदामा बसेका छन् ।

करारमा रहेकी दक्षता यादव पनि साउन २० गते देखि तालिममा गएकोले चिकित्सकले दिने सेवा बन्द भएको हो । अस्पतालमा दैनिक १ सय ५० भन्दा माथिको संख्यामा उपचार सेवा लिन आउने गरेका छन् ।

बारबर्दिया नगरपालिका–५ का प्रशान्त काफ्ले बुवाको उपचार गर्न अस्पताल जाँदा हेल्थ असिस्टेण्टबाट चेकजाँच गर्नुपर्ने बाध्यता भएको बताउनु भयो । साथै काफ्लेले ल्याब शुल्क महंगो र  उपचारमा पनि लापवाही हुने गरेको बताउनु भयो ।

बारबर्दिया नगरपालिका–९ का थीसरा बिकले डाक्टर नहुदाँ राम्रो सेवा प्राप्त गर्न नसकेको बताउनु भयो ।

बारबर्दिया नगरपालिका–६ का हरिप्रकाश भण्डारीले अस्पतालमा राम्रा सेवा सुविधा र डाक्टर नभएकोले बारबर्दियाका बिरामी गुलरिया, कोेहलपुर, नेपालगञ्ज जानु पर्ने बाध्यता रहेको बताउनु भयो ।

अस्पताल डाक्टर विहीन भई उपचार सेवामा परिरहेको समस्या बारेमा बारबर्दियाका नगरपालिकाका मेयर छविलाल थारूले अस्पतालमा कार्यरत चिकित्सक अध्ययनका लागि गएकोले चिकित्सक विहीन भएके बताउनु भयो ।

निर्वाचन आचार संहिता लागू भएकोले विज्ञापन गर्न नसकिएको निर्वाचन पछि मात्र प्रक्रिया थालिने बताउनु भयो ।

अस्पतालका अध्यक्ष मुक्तिप्रसाद शर्माले आचार संहिता लागु हुनु भन्दा पहिला नगरपालिकाको कर्मचारीको सरुवा र नगरपालिकाको लापबाहीले गर्दा डाक्टरको विज्ञापन गर्न नसकिएको बताउनु भयो ।

बारबर्दिया नगरपालिका –६ रहेको प्राथमिक स्वास्थ्य केन्द्रको स्तर उन्नती गरेर नगरपालिकाले आरसी थारु नगर अस्पताल बनाएको हो ।


मानबहादुर चौधरी