अस्पतालमा डाक्टर नहुँदा चेकजाँचमा समस्या

  ०७७ चैत ३१ गते

चार जनाको दरबन्दी रहेको जिल्ला अस्पतालमा एक जना पनि डाक्टर नहुँदा बिरामीको चेकजाँचमा समस्या भएको छ ।

चेकजाँचका लागि अस्पताल जाँदा घण्टौँसम्म कुरेर बस्नु पर्ने बाध्यता रहेको स्थानीय सेवाग्राही रामसिह धामीले दुखेसो पोख्नु भयो ।

उहाँले भन्नु भयो– ‘सामान्य चेकजाँचको लागि घण्टौ लाईनमा कुर्न परेको छ । अस्पतालका अहेवहरुले चेकजाँच गर्ने गर्छन् । डाक्टर नहुँदा सामान्य विरामीलाई पनि अस्पताले रिफर गर्ने गरेको छ ।’

अस्पतालमा एक जना मात्रै डाक्टर भएका कारण बिरामीहरुले दिनभरी अस्पतालमा पालो कुरेर बस्नु पर्ने बाध्यता रहेको स्थानीय दिलमाया ठगुन्नाले गुनासो गर्नु भयो ।

उहाँले भन्नु भयो–एक जना मात्रै डाक्टर छन् । प्रशासन र बिरामीको चेकजाँच एक्लैले गर्ने गरेका छन् । अनुभवि डाक्टर नहुँदा राम्रो उपचार हुन सक्दैन् ।

अस्प्तालमा रहेको एक्सरे मेसिन समेत बन्द छ । कोभिडको बेला अस्पतालमा जडान गरिएको आइसियु र भेन्टिलेटर दक्ष जनशक्ति नहुँदा सञ्चालन हुन सकेको छैन् । अस्पतालमा ब्लड बैङ्कको व्यवस्थापन गरिएको छैन् ।

अस्पतालका नवौं तहको मेडिकल सुपरिडेण्ट र आठाँै तहको मेडिकल अधिकृतको दरबन्दी वर्षौैदेखि रिक्त रहेका कारण सेवाग्राहीहरुलाई समस्या भएको  जिल्ला अस्पतालका प्रशासन शाखा प्रमुख आनसिह डागाले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘ छात्रबृति करारमा चार जना डाक्टर कार्यरत थिए । तर, एक सातादेखि जिल्ला अस्पताल दार्चुलामा कार्यरत चार जना डाक्टर नै जिल्ला बाहिर गएपछि अस्पतालमा बिरामीको चेकजाँचमा थप समस्या भएको छ ।’

अस्पतालमा बिरामी चेकजाँच गर्न समस्या भएपछि गोकुलेश्वर अस्पतालबाट डाक्टर मियाज अन्सारीलाई बोलाएर सेवा प्रवाह गरिएको जिल्ला अस्पताल, दार्चुलाका सूचना अधिकारी डम्मरदत्त भट्टले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘अहिले अस्प्तालमा दैनिक ८० जना बढि बिरामी आउने गरेका छन् । पछिल्लो समय मौसममा आएको परिवर्तनका कारण रुघाखोकीका विरामी बढि आउने गरेका छन् ।’

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दलजितसिंह धामीले जनशक्ति व्यवस्थापनको लागि पहल भइरहेको बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘हामी जनशक्ति व्यवस्थापनमा प्रयास गरिरहेका छौँ । अस्पताल भवन ४० सैया बनाउने प्रक्रिया पनि अगाडी बढाएका छौँ ।’

photo20210413darchula (2)

photo20210413darchula (1)


नरेन्द्रसिह कार्की