अस्पतालमा औषधि अभाव हुँदा सेवाग्राही मर्कामा

  ०७३ भदौ १५ गते

लुम्बिनी अञ्चलकै जेठो अस्पताल लुम्बिनी अञ्चल अस्पताल बुटवलमा एक सातादेखि औषधिको अभाव भएपछि सेवाग्राहीहरू मर्कामा परेका हुन् ।

उक्त अस्पतालमा कुकुर र बिरालाले टोक्दा प्रयोग गरिने एण्टीरेविज भ्याक्सिन नामक औषधि नभएकोले बिरामीहरूलाई कसरी उपचार गर्ने भन्ने विषयमा अप्ठ्यारो भएको लुम्बिनी अञ्चल अस्पताल बुटवलका सुपरिटेण्डेण्ट डाक्टर विकास देवकोटाले जानकारी दिए ।

'अस्पतालमा औषधिको अभाव हुँदा कुकुर र बिरालाले टोकेर आउने धेरै बिरामीहरू मर्कामा परेका छन् । अस्पतालमा औषधी सकिएपछि माग फारम भरेर पठाएको धेरै भो सेन्टरमै पनि यसको अभाव छ भन्ने जवाफ आउँछ ।'-मेसु डाक्टर देवकोटा भने ।

एण्टीरेबिज भ्याक्सिन सबै जसो जिल्ला अस्पतालमासमेत नहुँदा बिरामीहरू निराश भएर फर्केको अस्पतालमा कार्यरत एक मेडिकल अधिकृतले बताए ।

जिल्ला जनस्वास्थ्य कार्यालय रूपन्देहीका प्रमुख टङ्कप्रसाद चापागाईले भने-'एण्टीरेबिज भ्याक्सिनलगायतका विभिन्न औषधिहरू स्वास्थ्य मन्त्रालयको प्रकोप तथा रोग नियन्त्रण महाशाखा टेकुले जिल्लागत रूपमा कोटा तोकेको हुन्छ । त्यही आधारमा क्षेत्रीय मेडिकल स्टोर बुटवलले बाँड्ने गरेको छ ।' यदि कोटा नपुग्ने भए वा स्टक सकिएमा पुन विभागमा माग्नु पर्ने उनले बताए ।

उनले औषधि सकिएको जानकारी आफू कहाँ नआएकोले जानकारी नआउँदासम्म यसको विषयमा आफूले कुनै पहल गर्न नसक्ने बताए ।


रीमा बि.सी.